म्याग्दी । नवौ राष्ट्रिय खेलकुद लागि गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगीतामा म्याग्दी भलिबल टिम फाइनल प्रवेश गरेको छ । पोखरामा जारी रहेको गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा म्याग्दी महिला भलिबल टिम फाइनलमा प्रवेश गरेको हो । शुक्रबार भएको सेमिफाइनलमा तनहुँलाई सोझो सेटमा पराजित गर्दै म्याग्दीले फाइनलको यात्रा तय गरेको हो ।
यसअघिको खेलमा म्याग्दीले कास्की, नवलपुर र मुस्ताङलाई सोझो सेटमा पराजित गरेको थियो । शनिबार संचालन हुने कास्की र पर्वत विचको सेमिफाइनलमा विजेता हुने टिम संग म्याग्दी फाईनलमा भिड्ने छ ।
राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिएको म्याग्दीले सुरुवाती चरणदेखि नै उत्कृष्ट खेल प्रदर्शन गरिरहेको छ । सातौ र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश स्तरीय छनौटमा लगातार प्रथम भएको म्याग्दी महिला भलिबल टिम यसपालि पनि प्रथम हुने विश्वास गरिएको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष समेत रहनु भएको मुख्य प्रशिक्षक तेजेन्द्र बानियाँले बताउनुभयो ।
त्यस्तै राष्ट्रिय खेलाडी सुजन चोखालको कप्तानीमा रहेको पुरुष भलिबल भने क्वाटर फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा गोर्खा जिल्लालाई पराजित गर्दै क्वाटर फाईनलमा प्रवेश गरेको हो । शनिबार कास्की संग क्वाटर फाईनलको खेल संचालन हुने प्रशिक्षक बानियाँले बताउनुभयो ।
म्याग्दी जिल्लाको पुरुष तथा महिला भलिबलको मुख्य प्रशिक्षक बानियाँ सहित प्रशिक्षक कुमार किसान र मलिन रोकाले प्रशिक्षण गरिरहनुभएको छ । नवौँ राष्ट्रिय खेलकुदका लागि महिला भलिबलमा म्याग्दीबाट धेरै नै खेलाडी छनौट हुने आशा गरिएको प्रशिक्षक बानियाँले बताउनुभयो ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि म्याग्दीबाट सहभागी विभिन्न विधाका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरिरहेका जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।