प्रदेश स्तरीय महिला भलिबलमा म्याग्दी प्रथमः लगातार तेस्रो पटकको जित

म्याग्दी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश स्तरीय छनौट खेलमा म्याग्दीे महिला भलिबल टिम प्रथम भएको छ । पोखरामा जारी रहेको गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगिताको शनिवार भएको फाइनल खेलमा म्याग्दीले पर्वतलाई २–१ को सेटमा पराजित गरेको हो ।

यो संगै म्याग्दी लगातार ३ पटक सम्म विजेता बनेको छ । विजयी टिम म्याग्दीले म्याग्दीले ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेका छन । पोखरा रंगशालामा भएको फाईनल खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । दुवै टिमले एक एक सेट जितेपछि तेस्रो सेटमा म्याग्दीले कडा प्रतिस्पर्धामा जित हासिल गर्न सफल भएको हो ।

यसअघि सातौँ र आठौँ राष्ट्रिय खेलकुदको प्रदेश स्तरीय छनौटमा पनि अरुणा शाहीको कप्तानीमा रहेको म्याग्दी महिला भलिबल टिम प्रथम भएको थियो । र यसपालि सहित तीनवटै खेलमा मुख्य प्रशिक्षकको भूमिकामा तेजेन्द्र बानियाँ रहनुभएको म्याग्दी जिल्ला भलिबल संघका महासचिव कुमार किसानले बताउनुभयो ।

प्रदेश स्तरीय छनौट प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ बाहेक अन्य १० वटा जिल्लाका १० टिम सहभागी भएका थिए । विजेता टिम म्याग्दीको खेलाडीहरुमा कप्तान अरुणा शाही सहित पवित्रा विसी, रेविना घर्ति, सस्मिता पुन, मनिषा तिलिजा, सृजना पाईजा, सजिना वुढाथोकी, एलिसा रोका, काजल छन्त्याल, वर्षा फगामी, निशा पाईजा र तुल कुमारी तिलिजा सहभागी हुनुभएको थियो ।

राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिएको म्याग्दीले सुरुवाती चरणदेखि नै उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । हाल महिला भलिबल राष्ट्रिय टिमको कप्तान समेत रहनुभएकी शाही जिल्लाबाट सहभागी हुने खेलहरुमा अनिवार्य रुपमा सहभागी हुँदै आउनुभएको छ । उहाँको उपस्थितिले जिल्लाका अन्य खेलाडीहरुलाई थप उर्जा तथा हौसला समेत मिल्ने गरेको छ ।

त्यस्तै क्षेत्रीय खेलाडी सुजन चोखालको कप्तानीमा रहेको पुरुष भलिबल भने शनिबार कास्की जिल्ला संग भएको क्वाटर फाइनलमा पराजित भएपछि खेलबाट बाहिरिएको छ । म्याग्दी जिल्लाको पुरुष तथा महिला भलिबलका खेलाडीहरुलाई मुख्य प्रशिक्षक बानियाँ सहित प्रशिक्षक कुमार किसान र मलिन रोकाले प्रशिक्षण गर्नुभएको थियो ।

You can share this post!

म्याग्दीका विक्रम र स्याङ्जाका राजले खोले पेरिसमा एसियन फुड्स स्टेशन

तेक्वान्दोमा परियार र बर्देवाले स्वर्ण पदक जिते

Related posts