म्याग्दी । आगामी असोज २८ गते देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरामा संचालन भएको गण्डकी प्रदेशस्तरीय छनौट प्रतियोगितामा म्याग्दीले तेक्वान्दोतर्फ दुई स्वर्ण जित्न सफल भएको छ ।
शनिबार सम्पन्न भएको छनौट खेलमा म्याग्दीबाट राजकुमार परियारले ८७ केजी मुनीको तौल समुह र सिचन्द्र बर्देवाले ७३ केजी तौल समुहमा स्वर्ण पदक जितेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
म्याग्दीका परियार मार्सलआर्ट खेलसँगै प्रशिक्षक समेत हुनुहुन्छ । उहाँ मार्सलआर्ट विधा बाहेक कवड्डीका प्रशिक्षक समेत भएर पोखरामा जानुभएको थियो । स्वर्ण पदक प्राप्त गरि नवौँ राष्ट्रिय खेलकुदमा छनौट भएका परियारले यसपटक राष्ट्रिय खेलमा समेत उपाधी जित्ने गरी तयारी गरिरहेको बताउनुभयो । उहाँले पहिलो खेलमा नवलपुरलाई, दोस्रो सेमिफाइनलको खेलमा पर्वतलाई र फाइनल खेलमा गोर्खालाई पराजित गर्नुभएको थियो ।
छनौट प्रतियोगितामा म्याग्दीबाट ४९ देखि ९० केजी सम्मको तौलमा २२ जना खेलाडी सहभागी भएका थिए । जसमध्ये विभिन्न तौलमा सोमा बुढा मगर, दिपेश पूर्जा, रेश्मा शेरपुन्जाले रजत पदक जितेका छन । त्यस्तै रोहित पर्टेल, कृपेशा शर्मा, रन्जिता तामाङ, सुरेन्द्र वर्देवा र इकल रोका र सुस्मिता दर्जीले कास्य पदक हात पारेको प्रशिक्षक कर्ण प्रधानले बताउनुभयो ।
त्यस्तै काता पुम्से तर्फ म्याग्दीको महिला टिमका इशा गर्वुजा, प्रकृति रन्तिजा र रक्षा पुर्जा र पुरुष टिमका प्रमोद परियार, विशाल परियार र कुशल सुनारले रजत पदक जित्न सफल भएका प्रधानले बताउनुभयो ।
म्याग्दीले गण्डकी प्रदेशस्तरीय मार्सल आर्टको तेक्वान्दो कराँते र उसुमा स्वर्ण पदक सहित राम्रो प्रर्दशन गरेको छ । मार्सल आर्ट खेलमा म्याग्दी धौलागिरी भित्र बलियो र प्रदेशमा समेत शिर्ष स्थानमा रहेको छ ।
छोटो तयारी सहित म्याग्दीबाट प्रदेशस्तरीय विभिन्न खेलका लागि करिब २ सय खेलाडी छनौट भएका थिए । जिल्लाबाट सहभागी खेलाडीहरुले आफुले भाग लिएको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।