म्याग्दी । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले निर्माणाधिन बेनी अस्पतालको कामलाई अलपत्र पारेर ठेकेदार हराएको भन्दै अस्पतालगेट तथा कालीपुलमा सूचना टाँसेका छन ।
अनेरास्ववियु र युवा संघले आईतवार साँझ बेनीको क्याम्पसचोक देखि अस्पतालचोक सम्म बत्ति बालेर ठकेदार रविसिंह श्रेष्ठ हराएको भन्दै खोजि गरेका छन । झमक्कै साँझ परेको समयमा बत्ति बालेर ठेकेदार खोज्दै अस्पताल गेट नेर पुगेको अखिल र युवा संघको टोलीले कोणसभाको समेत आयोजना गरको छ ।
कोणसभालाई सम्वोधन गर्दै अनेरास्ववियुका गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेलले विरामीको उपचार गर्ने अस्पताललाई नै विरामी बनाउने ठेकेदार रविसिंहलाई म्याग्देली जनताले अप्रेशन गर्ने र यसको अगुवाई अनेरास्ववियुले गर्ने बताउनुभयो ।
राजनीति र पहुँचको आडमा अस्पताल जस्तो संवेदनशिल ठाउँमा चरम लापरवाही गरि हराएको ठेकेदारलाई जहाँबाट भएपनि खोजेर ल्याउन अखिल तयार रहेको भन्दै अध्यक्ष पौडेलले खवरदारीको पहिलो चरण अन्तर्गत यो कार्यक्रम गरिएको बताउनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल म्याग्दीका संयोजक शिशिर शाहीले अस्पताल भवन अलपत्र बनाउने ठेकेदारलाई बेनीमा मात्र होइन खोज्दै खोज्दे काठमाडौँ सम्म नै पुग्न सक्ने ताकत युवा संघ संग भएको बताउनुभयो । उहाँले तत्काल आएर काम सुरु नगरे चरणवद्ध रुपमा विरोध तथा खवरदारीको कार्यक्रम गर्ने समेत बताउनुभयो ।
स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षत्रेमा भएको यो लापरवाहीको विरुद्धमा अखिल र युवा संघ अग्रसर भएर भण्डाफोर गर्ने अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा म्याग्दी जिल्ला ईन्चार्ज सुवास विश्वकर्माको भनाई छ ।
‘ठेकेदार हराएको सूचना’ लेखिएको रविसिंह श्रेष्ठको फोटो सहितको व्यानर अस्पतालचोक, कालीपुल बसपार्क लगाएतका स्थानमा टाँगिएको छ । अनेरास्ववियुका जिल्ला संयोजक दर्पण रोकाले संचालन गर्नुभएको कोणसभामा अखिल तथा युवा संघका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
तत्कालिन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ५० शैयाको अस्पताल निर्माणका लागि महादेव खिम्ती– गल्वा –रफिना जेभि संग १८ करोड ८४ लाख ८ हजार ८९ रुपैयाँमा ठेक्का समझौता गरेको थियो ।
सम्झौता अनुुसार निर्माण कम्पनीले विस २०७६ मंसिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने हो । १५ शैयाको अस्पताललाई ५० शैयाको अस्पतालमा स्तरउन्नति गरेसंगै चारतले तीनवटा भवन निर्माण थालिएको थियो ।
निर्माण क्षेत्रमा परिचालन नभएपनि विभिन्न वहाना बनाएर पहँुच र शक्तिका भरमा निर्माण व्यवसायीले योजनाको म्याद थप्दै आएका छन । महादेव खिम्तीका सञ्चालक रवी सिंह निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हुनुहुन्छ भने गल्वा कन्ट्रक्सनका सञ्चालक नरहरी थपलिया उपमहासचिव हुनुहुन्छ । यस्तै रफिना कन्ट्रक्सनका सञ्चालक रविन जोशी पनि केन्द्रमा पहुँचवाला व्यक्ति हुनुहुन्छ ।
अहिले सम्म भवनको ५० प्रतिशत मात्रै भोतिक प्रगति भएको छ । भने विभिन्न मितिमा गरेर निर्माण कम्पनीले ९ करोड रुपैयाँ भुक्तानि लगिसकेको सघन शहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ ।
निर्माणको काम सन्तोषजनक नभएपछि कार्यालयले व्यवसायीलाई काम अगाडी बढाउन विभिन्न समयमा ७ पटक सम्म पचाचार गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले पनि भवन निर्माण सुस्त भएको भन्दै २०७७ चैत १७ गते ठेकेदार परिचालन गराउन कार्यालयलाई पत्र काटेको थियो । पछिल्लो समय थपिएको म्याद २०७८ जेठ २० मा सकिएको छ ।
अस्पतालको भवन समयमै सम्पन्न नहुँदा अस्पतालको सेवा प्रवाह प्रभावित बनेको छ भने मापदण्ड अनुसार विभिन्न निकायद्वारा पाउने सहयोग तथा अनुदान पनि रोकिएको अस्पतालले जनाएको छ ।