म्याग्दी । म्याग्दी सामुदायिक पुस्तकालयले आयोजना गरेको माध्यामिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगितामा लिटल गार्डेन एकेडेमी बेनीकी स्मृति शर्मा प्रथम हुनुभएको छ ।
१५ औं पुस्तकालय दिवसको अवसरमा ‘पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ विषयमा आयोजित निवन्ध लेखन प्रतियोगितामा बेनी सामुदायिक माविका हिमाल आचार्य द्वितिय र जामनुखर्क माविका उत्सव पौडेल तृतिय भएका छन ।
विजेतालाई क्रमश ५ हजार, ३ हजार, १५ सय नगद र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका समन्वय प्रमुख थापाले पुस्तकालयले पठन संस्कृतिको विकास गर्ने तथा विद्यार्थीको पढाईस्तरमा समेत सहयोग हुने बताउनुभयो ।
‘पुस्तकालयको प्रयोग गर्ने बानीले विद्यार्थीको पढाईको स्तरमा माथि उकास्न मद्दत गर्छ, शैक्षिक प्रगतिका लागी नियमित पुस्तकालयको प्रयोगमा जोड दिनुपर्छ’ थापाले भन्नुभयो ।
सोही अवसरमा पुस्तकालयका पुर्व अध्यक्ष धनञ्जयकुमार श्रेष्ठले समुदाय र विभिन्न संघसंस्थाको सहयोगमा पुस्तकालय स्थापना गरिएको बताउँदै पुस्तकालयबाट हुने कार्यक्रममा उल्लेखनीय सहभागिताको अपेक्षा गरिएको बताउनुभयो ।
पुरस्कार वितरणको अवसरमा विद्यालयलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो । पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता म्याग्दी पुस्तकालयका अध्यक्ष सन्तोष रावल, स्वागत पूर्व अध्यक्ष श्रेष्ठ र सञ्चालन कार्यसमिति सदस्य हरिकृष्ण गौतमले गर्नुभएको थियो ।