२५ अर्बको ऋण तिरिदिन आग्रह सहित जहाज खरिदका लागि ५ अर्ब माग

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमको मागअनुसार नयाँ जहाज खरिदका लागि बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग माग गरेको छ ।
तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले बजेट बाहिरको कार्यक्रम तथा योजनामा बजेट माग नगर्न आग्रह गर्दै आएकोमा नयाँ अर्थमन्त्रीको आगमनसँगै पर्यटन मन्त्रालयले जहाज किन्न वित्तीय व्यवस्थापनका लागि आग्रह गरिएको हो । यसबारे अर्थमन्त्रीले भने प्रतिक्रिया दिइसकेका छैनन् । अहिलेको आवश्‍यकतालाई हरेर निर्णय लिइने उनको सचिवालयले जनाएको छ ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनाकै अवधिमा बजेट बाहिरबाट मन्त्रालयले रकम माग गरेको हो । चालू वर्षको बजेटमा नयाँ जहाज खरिदको लागि रकम विनियोजन गरिएको छैन ।
चीनबाट सहुलियतपूर्ण ऋण र अनुदानमा ल्याइएका ६ जहाज चलाउन नसकेको नेपाल वायु सेवा निगमले आन्तरिक उडान विस्तारका लागि नयाँ जहाज आवश्‍यकता परेको बताउँदै आएको छ ।
अर्थ मन्त्रालयसँगको छलफलमा सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव यादव कोइरालाले नयाँ जहाज खरिदको लागि ५ अर्ब रुपैयाँ रकम व्यवस्था गरिदिनका लागि आग्रह गरेका छन् ।
हालसम्म संख्यात्मक रूपमा निगमसँग आन्तरिक उडानमा छवटा चिनियाँ जहाज र दुईवटा ट्वीनेटर जहाज छन् ।
अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा न्यारो र दुईवटा वाइड बडी जहाज छन् ।
चिनियाँ जहाज सञ्चालनबाट निगमलाई फाइदा नभएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गत असारमा निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेलाई नयाँ जहाज खरिदका लागि प्रक्रिया थाल्न निर्देशन दिएका थिए ।
तीन आर्थिक वर्षको अवधिमा चिनियाँ जहाजबाट व्यापार हुनुको साटो २ अर्ब रुपैयाँ नोक्सानी भएपछि निगमले चिनियाँ जहाज नचलाउने निर्णय गरेको थियो ।
आन्तरिक उडान विस्तारका लागि निगमले नयाँ जहाजको माग गरेको हो । निगमले दुर्गम क्षेत्रको उडानका लागि ट्वीनेटर र सुगम क्षेत्रका लागि एटीआर गरी दुईरदुईवटा जहाज खरिदको योजना बनाएको छ ।
निगमलाई वित्तीय रूपमा सशक्त बनाउनका लागि चुक्ता पुँजी ३० अर्ब रुपैयाँ पुर्‍याउने योजना अघि सारेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग भएको २५ अर्ब रुपैयाँ ऋण तिरिदिन पनि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको तर्फबाट अर्थ मन्त्रालयलाई आग्रह गरिएको छ ।

copy;- shilapatra

You can share this post!

पर्वत बसेर म्याग्दीमा नेटवर्किङ व्यवसाय सञ्चालन गरी ठगी गर्ने तिन जना प्रकाउ

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन

Related posts