एमाले म्याग्दीको मंगलामा घरदैलो तथा मतदाता भेटघाट

म्याग्दी । नेकपा एमाले म्याग्दीले सोमबार मंगला गाउँपालिकाको विभिन्न टोल र वस्तीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी एमाले उम्मेदवारसहित टोल भेलाको साथमा घरदैलो र मतदाता भेटघाट गरिएको हो ।

घरदैलो तथा मतदाता भेटघाटको क्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य एवं प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठले आफू र एमालेको पक्षमा मतदान गरी विजयी बनाउन मतदाताहरुलाई अपिल गर्नुभयो । उहाँले म्याग्दी जिल्लाको विकास र समृद्धिको योजनासहित आफू चुनावमा होमिएको बताउँदै जिल्लामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, यातायात र कृषिमा आधुनिकीकरणमार्फत रोजगारी सिर्जना गर्ने एजेण्डा रहेको बताउनुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद नरदेवी पुनले यसअघि आफू प्रदेशको सामाजिक विकास मन्त्री हुँदा म्याग्दीको शैक्षिक तथा पूर्वाधार विकास निर्माणमा पर्याप्त बजेट विनियोजन गरेको बताउँदै समग्र जिल्लाको विकासका लागि एमालेलाई मतदान गरी विजयी बनाउनुपर्ने बताउनुभयो । उहाँले विगतमा एमाले नेतृत्वको सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको कार्यान्वयनको जग बसालेको भन्दै आर्थिक समृद्धि र विकास निर्माणलाई पूर्णता दिनका लागि एमाले र एमालेका उम्मेदवारलाई जिताउन मतदातालाई अनुरोध गर्नुभयो ।

एमाले जिल्ला कमिटी सदस्य सिर्जना केसीले स्थानीय स्रोतसाधनको परिचालन गरी स्वदेशमै युवा रोजगारसहित विदेश पलायन रोक्न, देशको विकास निर्माणलाई तीव्रता दिन र जनमुखी बजेट निर्माण एवं कार्यक्रममार्फत जनताको आवश्यकता पूर्ति गर्न एमालेको पक्षमा मतदान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा एमाले मंगला गाउँपालिका कमिटी र वडा कमिटीका पदाधिकारीसहित स्थानीय नेता, कार्यकताहरुको सहभागिता रहेको थियो ।

You can share this post!

मालिकाको रुममा अनेमसंघको चुनावलक्षित कार्यक्रम

गुर्जामा माओवादी केन्द्रका नेताहरु एमालेमा प्रवेश

Related posts