बेनी, दरवाङ, मल्कवाङ, कुइने, सडकलाई रिङरोड बनाउँछुः एमाले उम्मेदवार गर्वुजा

म्याग्दी । नेकपा एमालेबाट प्रदेशसभा सदस्य क्षेत्र (ख) का उम्मेदवार याम बहादुर गर्वुजाले बेनी, दरवाङ, मल्कवाङ, कुईने सडकलाई विस्तार  गरि ठाडाखानी, पाखापानी पात्लेखेत हुँदै बेनी सम्मको रिङरोड बनाउने बताउनुभएको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रसार पचार कमिटीद्वारा मंगलबार धवलागिरि गाउँपालिका –६ मराङ र ५ मल्कवाङमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै उम्मेदवार गर्वुजाले नेकपा एमालेको सरकारले वजेट उपलव्ध गराई दरवाङ देखि मराङ हुँदै मल्कवाङ सम्म पुगेको सडक बजेट अभावले अगाडि बढ्न नसकेको बताउँदै उक्त सडकलाई कुईने सम्म पु¥याउने आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुभयो ।

कुइने सम्म सडक पुग्छ र त्यहाँबाट ठाडाखानी, पाखापानी रिङरोड बन्छ, बाह्रै महिना संचालन हुने गरि व्यवस्थित सडक बनाउने प्रतिवद्धता जनाउँदछु, उम्मेदवार गर्वुजाले भन्नुभयो । साथै उहाँले मराङ, मल्कवाङलाई लक्षित गरि उच्चमावि संचालनका लागि पहल गर्ने पनि बताउनुभयो । त्यसक्षेत्रका कृषि उत्पादन तथा जडिबुटि निकासीका लागि पनि सडक महत्वपूर्ण भएकाले समृद्धिको आधार मानेर सडक निर्माण, विस्तार तथा स्तरउन्नति गर्ने उम्मेदवार गर्वुजाको भनाई थियो ।

राजनीति र समाजसेवामा लामो अनुभव संगालेका गर्वुजाले इमान्दारिता, प्रतिष्ठा र विश्वासका साथ जनताको काम गर्ने विचार बोकेर आफु निर्वाचनमा उभिएकाले मंसिर ४ मा सूर्य चिन्हमा मतदान गरि जिताउन आव्हान गर्नुभयो । उहाँले प्रदेशसभा (ख)अन्तर्गत मंगला, मालिका र धवलागिरि गाउँपालिकाभित्र रहेको स्रोतसाधनको परिचालनको साथै स्वदेशमै रोजगारको सिर्जना गरी युवा पलायन रोक्ने, कृषि, जडिबुटी, पर्यटन र जलविद्युतको विकास गर्ने तथा ग्रामीण क्षेत्रका सर्वसाधारण, नागरिकको आर्थिक अवस्था सुधार्न आवश्यक पहल गर्ने बताउनुभएको थियो ।

सभालाई सम्वोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईन्चार्ज भुपेन्द्र बहादुर थापाले देशका गरिब, निमुखा र विपन्न समुदायको पक्षमा काम गर्ने पार्टी एमाले भएकाले आउदो निर्वाचनमा एमालेलाई अत्यधिक भोट दिएर जिताउनुपर्ने बताउनुभयो ।

उहाँले आफ्नो कार्यकालमा मराङ र मल्कबाङलाई लक्षित गरी म्याग्दीखोला तथा अर्गलामा पक्की मोटरेबल पुल निर्माणको पहल, मराङ–विम जोड्ने झोलुङ्गे पुल निर्माण, विम–मराङ–मल्कबाङ सडक विस्तार तथा विद्युतीकरणलगायत थुप्रै विकास निर्माणका कामहरु गरेको बताउँदै थप काम गर्नका लागि एमालेलाई जिताउन अनुरोध गर्नुभयो ।

नेकपा एमाले म्याग्दीका उपसचिव एवम् धवलागिरी गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुनले आफु निर्वाचित भएपछि एमाले सरकारको पालामा मालिकाको अर्खलाबाट धवलागिरी गाउँपालिका ६ मराङको बल तथा मल्कावाङ सम्म सडकमार्ग पुगको बताउनुभयो । बर्षेनी पर्ने १ करोड २५ लाखको बजेट गठवन्धनको सरकार आएपछि कटौति गरेको र मल्कवाङ देखि कुइने जोड्ने सडक अलपत्र परेको भन्दै त्यसलाई निरन्तरता दिनका लागि एमालेले जित्नुपर्ने बताउनुभयो ।

धवलागिरी गाउँपालिकाबाट एमालेलाई शानदार भोट आउने बताउँदै पुनले म्याग्दीमा संघ र दुई वटै प्रदेशमा एमालेका उम्मेदवार विजयी हुने दावी गर्नुभयो । जनलहर एमाले तिरै छ, हाम्रो जित त सुनिस्चित छ, पुनले भन्नुभयो, “गठवन्धन एमालेलाई हराउने मात्रै एजेन्डा बोकेर निर्वाचनमा आएको छ तर एमाले देश बनाउने संकल्पका साथ निर्वाचनमा होमिएको छ” ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्यद्वय रामचन्द्र गौतम, पदमलाल सापकोटा, एमाले धवलागिरि गाउँपालिका कमिटी अध्यक्ष रेशम छन्त्याल, अनेरास्ववियुका गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेलले जनमुखी बजेट, नीति तथा कार्यक्रम बनाएर देशको समुचित विकास गर्नका लागि एमालेलाई मतदान गरी विजयी बनाउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रम मराङका वडा कमिटी अध्यक्ष ज्ञान बहादुर गर्वुजा, मल्कवाङका वडा कमिटी अध्यक्ष धन बहादुर दर्जीको अध्यक्षता पालिका कमिटी अध्यक्ष छन्त्यालको स्वागत र जिल्ला कमिटी सदस्य ईश्वर सुवेदीको संचालनमा सम्पन्न भएको थियो । राष्ट्रिय जनसांस्कृतिक महासंघ म्याग्दीका कलाकारबाट जनवादी गीत तथा नृत्यहरुले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

 

 

You can share this post!

जनप्रिय माविको नवनिर्मित भवन उद्घाटनः पठनपाठनमा सहज हुने सहभागीको भनाई

अन्नपूर्णमा पर्यटन, जलविद्युत र पूर्वाधारः बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार

Related posts