म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर १० पात्लेखेत मा महिलाहरुको पाठेघर खस्ने रोग सम्वन्धी स्क्रिनिङ शिविर सम्पन्न भएको छ । बेनी नगरपालिका कार्यालयको आयोजनामा आइतवार पात्लेखेत स्वास्थ्यचौकीमा संचालित शिविरमा महिलाहरुको निशुल्क रुपमा पाठेघरको जाँच गरिएको हो ।
शिविरमा त्यस क्षेत्रका ९५ जना महिलाहरुले सेवा लिएको बेनी नगरपालिका स्वास्थ्य शाखाका कार्यक्रम संयोजक लिला गौतमले जानकारी दिनुभयो ।
३० देखि ६० बर्षका महिलाहरुमा गरिएको परिक्षणमा ३ जना महिलाको पाठेघरको मुखमा मासु पलाएको भेटिएको छ । उनिहरुलाई आवश्यक औसधि उपलव्ध गराईएको छ भने १ जनामा सम्भावित क्यान्सरको लक्षण देखिएकाले थप उपचारका लागि पोखरा जना सल्लाह दिईएको गौतमले बताउनुभयो ।
गत विहिबार बेनी नगरपालिका –१ रत्नेचौरमा पनि पाठेघर सम्वन्धी शिविर सम्पन्न भएको थियो । यसपछि बेनीनगरपालिका ३ भकिम्लीमा शिविर आयोजना गरिने छ । बेनी अस्पतालका स्त्री रोग विशेषज्ञ डा. सजना श्रेष्ठ लगायतको टोलीबाट पाठेघरको जाँचगरि आवश्यक परामर्श समेत दिदै आएको गौतमले बताउनुभयो ।
यस्तै बेनी नगरपालिकाले प्रत्येक महिनाको १५ गते नसर्ने रोगहरुको स्क्रिनिङ शिविर पनि प्रत्यक स्वास्थ्यचौकीमा संचालन गर्दै आएको छ । ४५ बर्ष भन्दा माथिकालाई सुगर, प्रेसर, मुटु रोग लगायतका नसर्ने रोगहरुको प्रारम्भिक जाँचगरि आवश्यक औसधि तथा परामर्श समेत दिने गरिएको छ ।
त्यस्तै ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँच कार्यक्रम पनि संचालन भईरहेको छ । ज्येष्ठ नागरिकहरुको घरघरमा स्वास्थ्यकर्मीको टोली पुगेर स्वास्थ्य जाँच तथा आवश्यक औसधि वितरण तथा स्वास्थ्य परामर्श दिने गरिएको बेनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्दन सुवेदीले बताउनुभयो ।
ग्रामिण भेगका महिलाहरुमा पाठेघरको समस्या प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ । नगर भित्रका महिला दिदीवहिनीहरुको स्वास्थ्य समस्यालाई लक्षितगरि यस बर्ष नगरभित्रका ३ वडामा शिविर संचालनगर्ने कार्यक्रम रहेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।
स्वास्थ्य शिविर प्रभावकारी बन्दै गएको छ, जटिल समस्या देखिएका विरामीहरुलाई परिवारको आर्थिक अवस्था हेरेर थप उपचारमा नगरपालिकाले सहयोग उपलब्ध गराउने गरि नीति बनाई बजेटको व्यवस्थापन गछौँ, प्रमुख केसीले भन्नुभयो । शिविर संचालनको लागि संघ सरकार र बेनीनगरपालिकाले पनि बजेटको व्यवस्थापन गरेको छ ।
सवैभन्दा ठुलो धन व्यक्तिको स्वास्थ्य हो, नगरका नागरिकहरुको स्वास्थ्यमा हामी गम्भिर छौँ, नगर प्रमुख केसीले भन्नुभयो, ‘रोग लागेपछिको उपचार मात्र होइन, रोगै लाग्न नदिने गरि स्वास्थ्य सचेतना फैलाउने पनि हाम्रो उद्देश्य हो’ ।
नगरपालिकाका गरिव, विपन्न, असहायहरुका लागि निशुल्क स्वास्थ्य विमा कार्यक्रम समेत लागु गरिएको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नगर प्रमुखको पदस्थापना गरेको दिन हरेक महिनाको १५ गते नसर्ने रोग सम्वन्धी स्क्रिनिङ शिविर संचालन गर्ने र घरघरमा स्वास्थ्यकर्मी पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । सोही बमोजिम नगरपालिकाले संचालन गर्दै आएको स्वास्थ्य शिविर प्रभावकारी बन्दै गएको छ ।