म्याग्दी । म्याग्दी जेसिजद्वारा आयोजित २० औँ सस्करणको अन्तर मावि स्तरीय जेसिज कप फुटवल प्रतियोगिता उद्घाटन गरिएको छ । मंगलबार म्याग्दी जेसिजको सचिवालयमा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख केसीले बेनीको खुल्ला मञ्चलाई आकर्षक खेलमैदानको रुपमा व्यवस्थित गरिने बताउनुभयो । जिल्ला सदरमुकाममा रहेको खुल्ला मञ्चलाई मिनी रंगशालाको रुपमा विकास गर्ने गरि काम भईरहेकोमा प्रयाप्त बजेट नहुँदा समस्या उत्पन्न भएको केसीले बताउनुभयो ।
चालु आर्थिक बर्षमा बेनी नगरपालिकाबाट विनियोजित ५० लाख र गण्डकी प्रदेश सरकारबाट प्राप्त ८ लाखले मञ्चको प्याराफिट निर्माण, मैदान व्यवस्थापन तथा आवश्यक ठाउँमा ढलान गर्ने कार्य सुरु गरिएको उहाँले बताउनुभयो ।
खुल्ला मञ्चमा खेलाडीहरुलाई फुटबल खेल्न सहज हुने गरि मैदान निर्माण गर्दै जाने लक्ष र योजना छ त्यसलाई क्रमश पुरा गछौँ, केसीले भन्नुभयो । साथै उहाँले जेसिज कप फुटबल प्रतियोगिता जिल्लामा खेलाडी उत्पादन गर्ने महत्वपूर्ण प्रतियोगिता भएको बताउनुभयो । उहाँले जेसिज कपलाई मिनी वल्डकपको समेत संज्ञा दिनुभएको छ ।
कार्यक्रममा बोल्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, नेपाल जेसिजका पूर्ण राष्ट्रिय अध्यक्ष सिनेटर धनञ्जय कुमार श्रेष्ठले खेलाडीले अनुशासन पूर्वक आफ्नो कुशलता र क्षमता प्रस्फुटन गर्नुपर्नेमा जोड दिनुभयो । साथै कार्यक्रममा बोल्ने वक्ताहरुले जिल्लाको फुटबल खेलको विकासमा जेसिज कपको भूमिकाको बारेमा चर्चा समेत गरेका थिए ।
कार्यक्रममा जेसिज कप फुटबल प्रतियोगिताको टाइटल स्पोन्सर गौमति विकास कोषका अध्यक्ष केन खत्रीले आयोजकलाई आर्थिक सहयोग स्वरुप चेक हस्तान्तरण गर्नुभएको थियो । प्रतियोगितामा जिल्लाका १८ वटा विद्यालयले सहभागिता जनाएको मुल संयोजक दिनेश बानियाँले बताउनुभयो । बुधबार विहान देखि खुल्ला मञ्चमा प्रतियोगिता संचालन हुनेछ । प्रतियोगिता संचालनका लागि मुख्य रेफ्रि सिद्धार्थ शाक्यले अफिसियलको तर्फबाट र बुद्ध एकेडेमीका सुमन पुनले खेलाडीको तर्फबाट सपथ ग्रहण गर्नुभएको छ ।
कार्यक्रम म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीको अध्यक्षता, मुल संयोजक बानियाँको स्वागत र महासचिव विष्मा श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । उद्घाटन समारोहमा जेसिजका पूर्व अध्यक्षहरु, सहभागी विद्यालयका खेलाडी तथा खेल शिक्षकहरु त्था संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।