अनेरास्ववियुको केन्द्रिय सचिवमा म्याग्दीका प्रकाश पौडेल विजयी

म्याग्दी । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रिय सचिवमा म्याग्दीका प्रकाश पौडेल विजयी हुनुभएको छ ।

हिजो विहिबार काठमाडौंमा सम्पन्न भएको २३ औँ महाधिवेशनबाट पौडेल केन्द्रिय सचिव पदमा भारी मतका साथ विजयी हुनुभएको हो । उहाँले ५२८ मत प्राप्त गरि विजयी हुनुभएको हो । केन्द्रिय सचिवमा ४८ जनाको उम्मेदवारी रहेको थियो ।

म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौर घर भई म्याग्दीबाट विद्यार्थीको नेताको रुपमा उदाएका पौडेल अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष समेत हुनुहुन्छ ।

त्यस्तै केन्द्रिय सदस्यमा गण्डकी प्रदेश महिलाबाट सावित्री खत्री निर्विरोध निर्वाचित हुनुभएको छ भने निर्वाचन आयोग सदस्यमा ईश्वर सुवेदी निर्वाचित हुनुभएको अनेरास्ववियु म्याग्दीका अध्यक्ष मिनल खत्रीले जानकारी दिनुभयो ।

२०६३ मा अनेरास्ववियु जनकल्याण माबी पुलाचौर बाट स्कुल कमिटी अध्यक्ष हुँदै विद्यार्थी राजनीतिको यात्रा सुरु गर्नुभएका पौडेल ३ कार्यकाल जिल्ला कमिटी सदस्य हुदैँ २०७१ सालमा अनेरास्ववियु म्याग्दीको १८ औँ अघिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

२०७२ सालमा अनेरास्ववियुको २२ औँ महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका पौडेल केन्द्रिय सचिवालय सदस्य हुदै २०७८ साल असोज देखि गण्डकी प्रदेशको अध्यक्ष पदमा रहेर संगठनको जिम्मेवारी कुशल रुपमा निभाईरहनुभएको छ । उहाँले गण्डकी प्रदेशमा “विपत्तिमा सहारा, विभेदमा विद्रोह” म अखिल भन्ने मूल नारा लिएर संङ्गठन अघि बढाउदै आउनुभएको छ ।

केन्द्रीय सचिवमा निर्वाचित भएपछि प्रतिक्रिया दिदै पौडेलले युवा अवस्था जिवनको महत्वपूर्ण अवधी भएकाले अखिलका सदस्यलाई सामाजिक जागरणको आन्दोलन र सेवा भावले समाजमा स्थापित गर्नेे आफ्नो योजना भएको बताउनुभयो । सङ्गठनलाई प्रविधियुक्त बनाई मजबुत सङ्गठन निर्माणमा विशेष ध्यान दिनेछु’, उहाँले भन्नुभयो ।

पौडेलको अगुवाइमा पोखरा को मणिपाल मेडिकल कलेज बिरुद्धको आन्दोलन र तत्कालीन सरकार विरुद्धमा भएका आन्दोलनले देशभर चर्चा कमाएको थियो । म्याग्दी अनेरास्ववियु को इतिहासमा पौडेल पहिलो पटक केन्द्रीय पदाधिकारीमा निर्वाचित हुनुभएको हो । अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल र महासचिवमा नरेश रोकाया निर्वाचित हुनुभएको छ ।

You can share this post!

जलेर घाइते भएका सांसद भण्डारीलाई मुम्बई लगियो

परमात्मा शिव अवतरणको यादगार पर्व– शिवरात्री

Related posts