म्याग्दी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले बालगृहका बालबालिकाहरुलाई सहयोग गरेको छ । महासंघको ६८ औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा म्याग्दीले बालगृहका बालबालिकलाई खाद्यान्न सामग्री सहयोग तथा स्वास्थ्य परिक्षण गरेको हो ।
कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी र महासंघका उपाध्यक्ष हरीकृष्ण गौतमले नेपाल बालसंगठन जिल्ला समिति म्याग्दीका सभापति राजेश शाक्य र उपसभापति ज्ञानेन्द्र श्रेष्ठलाई बालगृहका बालबालिकाको लागि खाद्यान्न सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
त्यस्तै नेपाल नेत्र ज्योती संघ बेनीका नेत्र अधिकृत दिनेश बानियाँद्वारा आखाँ परिक्षण र बेनी संजीवनी हेल्थ क्लिनिक बेनीका डाक्टर रोचन आचार्य लगायतको प्राविधिक सहयोगमा ११ जना बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।
कार्यक्रममा बेनी नगर प्रमुख केसीले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै महासंघको संस्थागत विकास र जिल्लामा क्रियाशिल पत्रकार र संचार माध्यमहरुको विकासका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै संस्थापक अध्यक्ष घनश्याम ख्डकाले पत्रकारितालाई मर्यादित र विश्वसनीय पेशा बनाउन सके महासंघको गरिमा बढ्ने बताउदै पुर्णरुपमा आचारसंहितालाई पालना गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।
उपाध्यक्ष गौतमको अध्यक्षता एवम् स्वागत मन्तव्य, महासंघका सदस्य कृष्ण जिसीले सहजीकरण गर्नुभएको कार्यक्रममा पुर्व अध्यक्ष तारानाथ शर्मा लगायतको उपस्थित रहेको थियो ।