म्याग्दी । अपाङ्ग संघ म्याग्दीको अध्यक्षमा गोरी दर्जी चयन हुनुभएको छ । सोमवार बेनीमा सम्पन्न भएको १८ औँ वार्षिक साधारणसभा तथा ११ औँ अधिवेशनबाट दर्जीको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको हो ।
समितिको उपाध्यक्षामा गणेश सुवेदी, जमुना पौडेल, सचिवमा सुरेन्द्र खत्री, कोषाध्यक्ष अनिल विश्वकर्मा र सहसचिवमा विशाल विश्वकर्मा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा जयलाल सुवेदी, भानु विश्वकर्मा, राजेश भण्डारी, ज्ञानेन्द्र पुन र विजुला बानियाँ चयन हुनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै बेनी नगरपालिका प्रमुख सुरत केसीले अपाङ्गता भएका व्यक्तिहरुलाई उत्पादन संग जोडनका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुको पीडा महसुस आफुले पनि गरेको भन्दै त्यस्ता व्यक्तिहरुसंगको समस्यामा आफु सधै नजिक रहने बताउनुभयो ।
अपाङ्ग व्यक्तिहरुलाई माया, सहयोग र सम्मानको दृश्यले व्यवहार गर्न अनुरोध गर्दै सरकारी तवरबाट प्राप्त भएका वजेटहरुले तालिम र गोष्ठीहरु मात्रै संचालन नगरि उत्पादनमुखी गतिविधि संचालन गर्न आवश्यक रहेको बताउनुभयो ।
यसवर्ष नगरपालिकाबाट विनियोजन भएको ५ लाख बजेटबाट दोभाषे कक्षा संचालन गरेको र पोखरामा गएर स्वास्थ्य परामर्श समेत गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रहरी नायव उपरिक्षक मदन कुँवर, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, जिल्ला समन्वय समितिका अधिकृत साधना कुमारी श्रेष्ठ, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अपाङ्गताको क्षेत्रमा पत्रकारीताको माध्यमबाट अतुलनीय योगदान पु¥याएको भन्दै जिल्लाका क्रृयाशिल पत्रकार हरिकृष्ण गौतमलाई सम्मान गरिएको छ । त्यस्तै शिक्षक सेवा आयोगबाट प्रावि तहमा नाम निकाल्न सफल दृष्टिविहिन गोपाल खत्री, काशिराम विश्वकर्मा र शारिरीक अपाङ्गता भएका सुजन बुढाथोकीलाई पनि सम्मान गरिएको सचिव सुरेन्द्र खत्रीले जानकारी दिनुभयो ।
कार्यक्रम अपाङ्ग संघ म्याग्दीका कार्यवाहक अध्यक्ष गणेश सुवेदीको अध्यक्षता र सचिव खत्रीको संचालनमा सम्पन्न भएको थियो । त्यस्तै अधिवेशनबाट कर्ण पुनको अध्यक्षतामा अपाङ्ग संघ बेनी नगर समिति पनि गठन भएको छ । नगर समितिको उपाध्यक्षमा सुजन श्रेष्ठ, सचिवमा पदम भण्डारी, कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा ललित बहादुर कार्की, दिपा चोखाल, आशिष श्रेष्ठ, काशिराम विश्वकर्मा र रितु थापा चयन हुनुभएको जनाईएको छ ।