पोखरा । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त हुनुभएको छ । । गण्डकी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले म्याग्दीका शर्मालाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने निर्णय गरेको हो ।
शर्मा गत वर्षको वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका मेयरमा पराजित हुनुभएको थियो । उहाँ नेपाली काँग्रेसबाट बेनी नगरपालिका मेयरमा उम्मेदवार बन्नुभएको थियो ।
जिल्लाको बेनी नगरपालिका–१०,पात्लेखेतमा जन्मनुभएका शर्माले २०४८ सालदेखी वकालत गर्नुभएको हो ।जिल्ला वार एशोसिएशन म्याग्दीको ५ पटक अध्यक्ष हुनुभएका शर्मा लोकतान्त्रिक कानुन व्यवसायी संगठनको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत बन्नुभयो । राजनिती शास्त्रमा एमए,कानुनमा बिएल र अंग्रेजीमा बिएड पास गर्नुभएका शर्मा कांग्रेस म्याग्दीका पुर्व जिल्ला सचिव समेत हुनुहुन्छ ।
यसअघि निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त गरेका थिए । अधिकारी नेतृत्वको सरकार ढलेसँगै बराल पदमुक्त भएका थिए । शर्माले विहिबार साँझ ४ बजे सपथ ग्रहण गर्ने समय तालिका रहेको छ ।