प्रेस चौतारी नेपाल म्याग्दीको १८ औँ साधारणसभाः पत्रकार जिसी सम्मानित

म्याग्दी । प्रेस चौतारी नेपाल म्याग्दी शाखाको १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको शनिवार बेनीमा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमको अवसरमा प्रेस चौतारी म्याग्दीले स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार– २०७९ बाट पत्रकार कृष्ण जिसी सम्मानित हुनुभएको छ । जिसीलाई नगद ५ हजार ५सय ५५ रुपियाँ सहित सम्मान पत्र र दोसल्लाले पुरस्कृत गरिएको हो । २०६१ सालमा धवलागिरी एफएममा आवद्ध हुँदै पत्रकारी सुरु गर्नुभएका जिसी हाल जलजला अनलाईनका प्रकाशक तथा सम्पादक हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कार्यसमिति सदस्य समेत रहनुभएका जिसीलाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा र प्रेस चौतारी म्यादीका अध्यक्ष प्रताप बानियाँ लगायतले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष वस्नेतले पत्रकारहरुले लोकतन्त्रका पक्षमा कलम चलाउँदै आएको चर्चा गर्नुभयो । उहाँले विभिन्न कारणले समाजमा पछाडि पारिएका समुदाय र विकास निर्माणमा हुने ढिलासुस्ती तथा विकृतिका बारेमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

देशमा लोकतन्त्र, गणतन्त्र र सङ्घीयता स्थापना गर्न नेपाली पे्रस जगतको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो । पत्रकार पनि समाजको अभिन्न अङ्ग भएकाले राजनीतिक दलले पत्रकार र पत्रकारिता पेशामाथि हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । पत्रकारिता पेशालाई मर्यादित र विश्वसनीय बनाउनुपर्ने अध्यक्ष बस्नेतको भनाई थियो ।

पत्रकारिता पेशा र पे्रस जगतको हकहित संरक्षण र प्रवर्धन गर्न सबै पेशागत सङ्गठनहरु एक हुनुपर्ने बताउनुभयो । पत्रकारीता क्षेत्रमा देखिएको विकृति हटाउन पनि पत्रकार महासङ्घको शुद्धीकरण अभियानलाई देशभर प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष शर्माले राजनीतिक क्षेत्रमाजस्तै पत्रकारिता क्षेत्रमा पनि विकृतिहरु देखिन थालेको भन्दै पत्रकार र प्रेस जगतलाई मर्यादित र विश्वसनीय बनाउन आग्रह गर्नुभयो । पत्रकारीता क्षेत्रकोे हकहितका लागि पार्टीले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका गण्डकी प्रदेश इन्चार्ज रामकृष्ण ज्ञवाली, एमाले म्याग्दीका अध्यक्ष देबेन्द्र केसी, रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष दिपक कार्की, प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका अध्यक्ष इन्द्र पौडेल लगायतले पत्रकारिता क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष गणेश पाण्डे, केन्द्रिय महासचिव हिरामान लामा, केन्द्रिय सचिव तथा गण्डकी प्रदेश ईन्चार्ज सुस्मा पौडेल, नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव सुरत केसी, उपसचिव द्वय राजकुमार थापा, थमसरा पुन, प्रेस चौतारी इन्चार्ज डिपी शर्मा, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सह इन्चार्ज प्रकाश पौडेल, एम.वि आस्था, रुद्र श्रीष, गण्डकी प्रदेश समितिका उपाध्यक्ष उमाकान्त शर्मा, महासचिव आश गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम प्रेस चौतारी नेपाल म्याग्दी शाखाका अध्यक्ष बानियाँको अध्यक्षता, र सचिव अमित विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमको समापन उपाध्यक्ष देवि जिसीले गर्नुभएको थियो । बन्द सत्रमा अध्यक्ष बानियाँले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । प्रेस चौतारीको भावि कार्ययोजनाको बारेमा समेत व्यापक छलफल गरिएको अध्यक्ष बानियाँले बताउनुभयो ।

You can share this post!

मानव अधिकार तथा शान्ति समाजको स्थापना दिवसमा अवधारणापत्र सार्वजनिक

बेनीमा आयोजित ठेलो प्रतियोगितामा पर्वतका किरण विक विजयी

Related posts