बेनीको कालिपुल बसपार्कमा निर्माण भएको टर्मिनल भवन उद्घाटन

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८,कालिपुलमा निर्माण भएको टर्मिनल भवनको उद्घाटन गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले निर्माण गरेको उक्त भवनको बुधबार एक कार्यक्रमबिच बेनी नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । टर्मिनल भवन निर्माण र बसपार्क ढलान गर्न वि.स. २०७८ पुषमा शुभ कन्ट्रक्सनसँग दुई करोड ८५ लाख ४५ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण व्यवसायीले भवन निर्माण गरेर आयोजनालाई हस्तान्तरण गरेको थियो । आयोजनाले १७ बैशाखमा बेनी नगरपालिकालाई हस्तातरण गरेको हो ।टर्मिनल भवन निर्माण भएसंगै डेढ दशकपछि सदरमुकामस्थित कालीपुल बसपार्क सञ्चालनमा आएको हो । बसपार्कलाई सरसफाइ गरेर चिटिक्क पारिएको छ । सवारीसाधन व्यवस्थित रुपमा पार्किङ गरेर राखिएका छन् ।

बसपार्कमा टर्मिनल भवन,पार्किङ स्थल ,शौचालय, खाजाघर र प्रतीक्षालय लगायतका पूर्वाधार निर्माण भएपछि हिउँदमा धुलो, बर्खामा हिलो र अव्यवस्थित पार्किङको समस्या हटेको बेनी नगरपालिकाका प्रमुख केसीले बताउनुभयो । विगत तीन वर्ष यता बसपार्कलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण थालिएको थियो । काली गण्डकी नदी कटानको जोखिममा परेको बसपार्कको संरक्षणका लागि तटबन्धन निर्माण, बसपार्क कालोपत्रे, ट्याक्सी र बस पार्किङ स्थल ढलान गरेपछि धुलो र हिलोको समस्या हटेको कालीपुल बसपार्क व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका बेनी नगरपालिका ८ का वडाध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।

बसपार्कलाई व्यवस्थित र आधुनिक बनाउन गुरुयोजना अनुसार बसपार्कमा करिब साढे दुई करोड रुपियाँ लागतमा टर्मिनल भवन निर्माण गरिएको थियो । अपाङ्गमैत्री रहेको टर्मिनल भवनमा सार्वजनिक शौचालय, बाथरुम, टिकट काउन्टर र यात्रु प्रतीक्षालय लगायतका पूर्वाधारहरु निर्माण गरिएका छन् । बसपार्क निर्माण गर्न २०७४ मा सहरी विकास मन्त्रालयले कालीपुल बसपार्क गुरुयोजना बनाउन २१ करोड रुपियाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको थियो । डिपिआर अनुसारको निर्माणकार्य अझै बाँकी रहेको वडाध्यक्ष कर्माचार्यले बताउनुभयो ।

पार्किङमा राखिने सवारी सधानलाई समयको आधारमा २५ देखि दुई सय रुपैयाँ प्रति गोटाका दरले शुल्क निर्धारण गरिएको छ । भवन परिसरमा सुरक्षा निगरानीका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ । व्यवस्थित बसपार्क निर्माण भएपछि यातायात व्यवसायीलाई सहज भएको यातायात व्यवसायी लालबहादुर थापाले बताउनुभयो । २०६४ मा पर्वत र म्याग्दी जोड्ने काली गण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि कालीपुल बसपार्क सञ्चालनमा आएको थियो । बेनीदेखि काठमाडौं, पोखरालगायत देशका विभिन्न ठाउँ, मुस्ताङ, म्याग्दीको उत्तरी क्षेत्रमा छुट्ने गाडी र ट्याक्सी यहाँ पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । वडासदस्य यामबहादुर बानियाँले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

You can share this post!

म्याग्दीको पर्यटन प्रवर्धनका लागि मोना अष्ट्रेलियाले फोटो प्रतियोगिता आयोजना गर्ने

राष्ट्रिय युवा संघ म्याग्दीको प्रशिक्षण कार्यक्रम, राज्यको संयन्त्र नै सुन तस्करीमा लागेको एमाले नेता बस्नेतको आरोप

Related posts