म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका भित्रका स्थानीय बजारहरुको अनुगमन गरिएको छ । अन्नपूर्ण गाउँपालिका र पर्यटन तथा उद्योग कार्यालयको संयुक्त आयोजनामा बुधबार पोखरेबगर, भुरुङतातोपानी र दाना क्षेत्रमा संचालित ७० वटा होटल तथा किराना पसलहरुको अनुगमन गरिएको हो ।
अनुगमन टोलीले ३५ वटा होटल, २५ वटा किराना पसल, तीनवटा वर्कसप, एक मेडिकल, तीन कस्मेटिक, र तीन इलेक्ट्रोनिक्स पसलहरु अनुगमन गरिएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँले अनुगमनका क्रममा ६ हजार रुपैयाँ बराबरको म्याद गुज्रेका र अखाद्य वस्तुहरू जफत गरी नष्ट गरिएको बताउनुभयो ।
“अनुगमन टोलीले दर्ता नविकरण सम्वन्धी, कालोबजारी नियन्त्रण गरी गुणस्तरीय सामानहरु पसलमा राख्ने सम्वन्धी जानकारी गराईएको छ”, सुवेदीले भन्नुभयो । उपभोक्तालाई सचेत बन्न र गुनासो गर्ने बानी बसाल्न समेत अनुगमन टोलीले सुझाव दिएको छ ।
अनुगमनको क्रम भेटिएको कमी कमजोरीहरुलाई तत्काल सुधार गर्न गाउँपालिकाले निर्देशन समेत गरेको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा कुमारी पुनले बताउनुभयो ।
अन्नपूर्ण गाउँपलिकाका अध्यक्ष भरतकुमार पुन, उपाध्यक्ष पुन, प्रमुख प्रशासकिय अधिकृत सुवेदी, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषनाथ शर्मा, बजार अनुगमन इकाईका सचिव एवम् प्रशासकिय अधिकृत भगवती खड्का, शिक्षा, प्राविधिक प्रमुख, लगायत कर्मचारीको तीन टोलीमार्फत अनुगमन गरिएको थियो ।