२१ औँ अन्तरमावि जेसिजकप फुटबल प्रतियोगिताको लोगो सार्वजनिक

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा यहि मंसिर १९ गते देखि २३ गते सम्म म्याग्दी जेसिजले संचालन गर्ने २१ औँ अन्तरमावि जेसिजकप फुटबल प्रतियोगिताको लोगो सार्वजनिक गरिएको छ ।

सोमवार जेसिज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमार्फत म्याग्दी जेसिजका शाखा अध्यक्ष सुमन बानियाँ, पूर्व अध्यक्षहरु विनय श्रेष्ठ, खम थापा, प्रतियोगिताका मूल संयोजक विनोद घर्ति र महासचिव कुमार बानियाँले संयुक्त रुपमा लोगो सार्वजनिक गर्नुभएको हो ।

‘फुटबलको विकास हाम्रो ध्येयः नव प्रतिभाको प्रष्फुटन मुल उद्देश्य’ भन्ने मुल नारा रहेको २१ औँ संस्करणको जेसिज कपको टाईटल स्पोन्सर राम–बिमला फाउन्डेसन बेनी रहेको छ  भने सहप्रायोजन मिन बहादुर विश्वकर्मा स्मृति कोष बेनीले गरेको छ ।

राम–बिमला फाउन्डेसन जिल्ला स्तरीय अन्तरमावि जेसिज कप फुटबल प्रतियागितामा विजेताले जेसिजकप रनिङ, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २ सय २२ र उपविजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ३२ हजार २ सय ३२ रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका मूल संयोजक म्याग्दी जेसिजका कार्यकारीणी उपाध्यक्ष विनोद घर्तिले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडि धमानसिंह अवार्ड, सर्वाधिक गालेकर्ता लक्ष्मी पुतली अवार्ड, उत्कृष्ट गालेरक्षक इन्द्र अवार्ड, उत्कृष्ट डिफेन्डर सरस्वती अवार्ड, उत्कृष्ट स्ट्राईकर रामजी अवार्ड, उत्कृष्ट मिडफिल्डर लालिगुराँस अवार्ड, राईजिङ प्लेयर धन अवार्ड, उत्कृष्ट कोच कृष्णप्रसाद एककुमारी अवार्ड, अनुशासित टिम झलक खगेश्वरी अवार्ड नगद रु २ हजार ५ सय र ट्रफिको व्यवस्था गरिएको छ । साथै सेमि फाईनलिष्ट दुई टिमलाई नगद रु ५÷५ हजार र प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार पनि प्रदान गरिने छ ।

प्रतियोगिता संचालनका लागि ७ लाख ५७ हजार लागत अनुमान गरिएको छ । विभिन्न संघ, संस्था तथा व्यक्तिहरुबाट सहयोग जुटाएर प्रतियोगिताको खर्च व्यवस्थापन गरिने शाखा अध्यक्ष सुमन बानियाँले बताउनुभयो । ‘जिल्लामा फुटबल खेलको नर्सरीको रुपमा लिईने जेसिज कपको २१ औँ संस्करणलाई भव्यताका साथ सफल बनाउन सवै पक्षबाट रचनात्मक सहयोग अपेक्षा छ’, शाखा अध्यक्ष बानियाँले भन्नुभयो ।

प्रतियोगितालाई व्यवस्थित संचालनका लागि विभिन्न १७ वटा उप समिति गठन गरि तयारी थालिएको छ । प्रतियोगितामा जिल्लाका १५ देखि १८ वटा विद्यालयको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिता संचालनका लागि जेसिज कप खेलेका पूर्व खेलाडीहरु नै अफिसियलको रुपमा रहनेछन ।

कार्यक्रममा उपस्थित संचारकर्मीहरुले जेसिजकप सदरमुकाम भन्दा बाहिरको ठाउँहरुमा पनि संचालन गर्नुपर्ने, छात्राहरुको पनि फुटबल प्रतियोगिता संचालन गर्नुपर्ने, लोगोमा जिल्लाको पहिचान झल्किने कुनै स्थान वा वस्तुहरुको आकृति समावेश गर्दा राम्रो हुने सुझावहरु प्रस्तुत गरेको थिए ।

वर्षेनी बेनीको खुल्ला मञ्चमा संचालन हुने जेसिजकपले जिल्लामा विश्वकपकै झल्को मेटाउने गर्दछ भने विद्यालयको प्रतिष्ठा संग पनि जोडिएको छ । जेसिजकपको उपाधि जित्नकै लागि विद्यालयहरुले खेलकुद शिक्षकको समेत व्यवस्था गरि निरन्तर अभ्यास गराउँदै आएको पाइन्छ ।

म्याग्दीबाट गण्डकी प्रदेशसभा सदस्य रहनुभएका बिमला गौचनले आफ्नो श्रीमान स्वर्गीय राम गौचनको स्मृतिमा २०७९ साउन १३ गते विधिवत रुपमा दर्ता गर्नुभएको राम–बिमला फाउन्डेसनले २१ औँ संस्करणको जेसिजकपको टाईटल स्पोन्सर गरेकोमा शाखा अध्यक्ष बानियाँले आभार प्रकट गर्नुभएको छ । शैक्षिक, धार्मिक तथा खेलकुद क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले स्थापित फाउन्डेसनले म्याग्दी र मुस्ताङमा समेत विभिन्न सामाजिक गतिविधिहरु संचालन गर्दै आएको छ ।

 

You can share this post!

मोना जापानको सल्लाहकार चयन एबम सम्मान कार्यक्रम सम्पन्न

लोक दोहोरी प्रतिष्ठानले राख्यो बेनी नगरको प्रतिक्षालयमा वाटर डिस्पेन्सर

Related posts