घोडेपानीमा पछिल्लो चार महिनामा १२ हजार विदेशी पर्यटक आए

म्याग्दी । म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीमा पछिल्लो साढे चार महिनाको अवधिमा १२ हजार बढि विदेशी पर्यटक भ्रमणमा आएका छन । चालु आर्थिक वर्षको साउनदेखि मंसिर १० गते सम्ममा १२ हजार ३६१ विदेशी पर्यटकले घोडेपानी र पुनहिलको भ्रमण गरेका पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ ।

चार महिनाको अवधिमा सवैभन्दा बढि कार्तिक महिनामा विदेशी पर्यटकले घोडेपानी भ्रमण गरेका छन । साउन महिनामा ९ सय ७६, भदौमा ९ सय ९३, असोजमा ३ तीन हजार १ सय ११, कार्तिकमा ५ हजार ७ सय ७९ र मंसिर महिनाको १० गतेसम्म १ हजार ५ सय २ जना विदेशी पर्यटकले घोडेपानी भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीका प्रहरी सहायक निरिक्षक तारा बुढा मगरले जानकारी दिनुभयो ।

त्यस्तै सिजनको समयमा मासिक २५०० देखि ३००० हजार सम्म आन्तरिक पर्यटकहरुले घोडेपानीको भ्रमण गर्ने गरेका छन । आन्तरिक पर्यटकहरुको आधिकारिक तथ्यांक प्रहरीले नराखेपनि होटल व्यवसीयहरुबाट मासिक रुपमा तथ्यांक लिने गरेको प्रसनि बुढा मगरले बताउनुभयो ।

आन्तरिक पर्यटकहरु दशै तिहारको विदाको समयमा र फागुन, चैतमा लालीगुँरास फुल्ने समयमा घोडेपानी तथा पुनहिलको भ्रमणमा आउने गर्दछन । तर गत वर्षको तुलनामा यस वर्ष भने घोडेपानी भ्रमण गर्ने पर्यटकको संख्यामा कमि आएको छ ।

घोडेपानीका पर्यटन व्यवसायी क्या. डम बहादुर गर्वुजाले कोरोना महामारीपछि गत वर्ष आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमन उल्लेख्य रहेको तर यो वर्ष भने सिजनको समयमा पनि पर्यटकको आगमन कमै रहेको बताउनुभयो । उहाँका अनुसार अघिल्ला सजिनको समयमा दैनिक ३०० आन्तरिक पर्यटक आउने गरेकोमा यो सिजनमा दैनिक १५० सम्म आन्तरिक पर्यटकले घोडेपानी भ्रमण गरेका छन ।

सडक संजालका कारण पदमार्ग मासिएपछि घोडेपानी घुम्ने आउने विदेशी पर्यटकहरुको संख्यामा पनि कमी हुँदै गएको जर्मनीका १२ जना पर्यटकहरु लिएर घोडेपानी पुग्नुभएका मल्टीएडभेन्चर काठमाडौँका पदप्रदर्शक डाइला शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘घोडेपानी आउन विदेशी पर्यटकहरुका लागि छुट्टै पदमार्गको आवश्यकता छ’ ।

समुन्द्री सतहदेखि ३ हजार २ सय मिटरको उचाईमा रहेको पुनहिलबाट विहान सवेरै देखिने सूर्योदय र धवलागिरी, अन्नपूर्ण, माछापुछ्रे लगायत विभिन्न हिमश्रृङ्खलाहरुको अवलोकन र शान्त तथा सफा वातावरण, वरिपरी गुँरासे जंगल घोडेपानीको प्रमुख विशेषता हुन ।

घोडेपानीमा २४ वटा ठुला होटल र २ वटा होमस्ते र ३ वटा खाजा घर संचालनमा रहेका छन । यी होटलहरुमा दिनमा १ हजार देखि १ हजार २ सय पर्यटकलाई आरामदायी सुविधा सहित बास बसाल्न सकिने पर्यटन व्यवसायी गर्वुजाले बताउनुभयो ।

घोडेपानीमा म्याग्दीको भुरुङ तातोपानी हुँदै, नागी महरे हुँदै, कास्कीको विरेठाँटी उल्लेरी हुँदै र छोम्रोङ–घान्द्रुक–टाडापानी हुँदै पर्यटकहरु पदमार्ग मार्फत पुग्न सक्दछन ।

 

You can share this post!

८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो

जलजलामा अपाङ्ग दिवस मनाइयो

Related posts