म्याग्दी । नेकपा एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुवेदी निर्वाचित हुनुभएको छ । आईतवार बेनीमा सम्पन्न भएको नेकपा एमाले म्याग्दीको दशौँ जिल्ला अधिवेशनबाट सुवेदीको अध्यक्षतामा सर्वसम्मत रुपमा ७५ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । सुवेदी यसअघि जिल्ला कमिटीको उपाध्यक्ष हुनुहुन्थ्यो ।
जिल्ला कमिटीको नवनिर्वाचित उपाध्यक्षमा प्रमोद श्रेष्ठ, सचिवमा थमसरा पुन, उपसचिवमा खड्क गिरी र सतप्रसाद रोका निर्वाचित हुनुभएको हो ।
निर्वाचित भएपछि अध्यक्ष सुवेदीले बर्तमान असहज राजनैतिक अवस्थालाई सहजतामा रुपान्तरण गर्दै व्यापक राजनैतिक निराशा र वितृष्णालाई आशामा रुपान्तरण गर्दै हजारौ चुनौतिलाई अवसरमा रुपान्तरण गर्दै नेकपा एमालेको शिरलाई म्याग्दी जिल्लामा सधैँ उच्च बनाउने प्रतिवद्धता जनाउनुभयो ।
साथै उहाँले म्याग्दी जिल्लामा सर्वसम्मत नेतृत्व चयन गराउन सफल भएकोमा शिर्ष नेताहरुलाई धन्यवाद व्यक्त गर्दै यसले म्याग्दीमा एमाले एकढिक्का छ भन्ने सन्देश प्रवाह गरेको बताउनुभयो । साथै उहाँले विभिन्न पदमा उम्मेदवारी दिई सर्वसम्मतका लागि उम्मेदवारी फिर्ता लिनुभएका नेताहरुलाई पनि धन्यवाद व्यक्त गर्नुभयो ।