म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै जोडिएको बराहपाखो सामुदायिक बनमा पदमार्ग निर्माण गरिएको छ । बेनी नगरपालिका–७ को योजना अन्तरगत सामुदायिक बनभित्र रहेको बनभोजस्थलदेखि हुलाकचोकसम्म करिब १७० मिटर पदमार्ग निर्माण गरिएको हो ।
बनभित्र रहेको पूरानो पैदलमार्गलाई ब्यवस्थित गर्न वडाको ५ लाख र जनश्रमदान ५५ हजार गरि कुल ५ लाख ५५ हजारको बजेटमा निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष विष्णु प्रसाद गौतमले बताउनुभयो ।
पदमार्गले विहान बेलुकी घुम्न निस्कनेलाई, बनभोजस्थलमा जाने र बराहपाखो क्षेत्रमा रहेको बेनी खानेपानीको ट्यांकी, पूरानो खानेपानीको मुल मर्मतका लागि समेत पदमार्ग बनेपछि सहज भएको छ ।
वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले पुराना पदमार्गलाई मर्मतसम्भार र नयाँ ट्रयाक खोल्ने कामपनि सँगसँगै गरिएको बताउनुभयो । सामुदायिक बनभित्र करिब १ किलोमिटर पदमार्गको सञ्जाल बनाउने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
अग्नीरेखाको लागि पनि उपयोग हुनेगरि पक्की ढलान सहितको पदमार्ग बनाईएको छ । गर्मीयाम शुरु भएसँगै आगलागीको जोखिम कम गर्न समेत पदमार्गले अग्नीरेखाको काम गर्नेछ ।
बराहपाखो साामुदायिक बनमा बाक्लो मात्रामा सल्ला रहेकाले आगो छिटो फैलिन सक्ने खतरालाई समेत पदमार्गले न्यूनिकरण गर्नेछ । बराहपाखो सामुदायिक बनको माथिल्लो क्षेत्रमा वडा नं ८ बाट साइकल लेन ल्याउने र तल्लो क्षेत्रमा पदमार्ग बनाउने बाहेक अन्य संरचनाहरूलाई प्राथमिकता नदिइएको वडा कार्यालयले जनाएको छ ।