४३ सय ६२ जना बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै

म्याग्दी । म्याग्दीमा पोलियो विरुद्धको खोप लगाउन छुटेका बालबालिका आगामी जेठ १३ देखि १९ गतेसम्म खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका ४३ सय ६२ जना बालबालिका लागि लक्षित गर्दै खोप अभियान सुरु गर्न लागेको हो ।

शुक्रबार स्वास्थ्य कार्यालयमा आयोजित जिल्लास्तरीय खोप समन्वय समिति सरोकारवाला र सञ्चारकर्मीसँगको कार्यक्रममा लक्षित बालबालिका विद्यालय उमेर समुहका भएको बेनी नगरपालिका र पाँच गाउँपालिकाका १ सय ११ विद्यालय, २८ खोप केन्द्रमा स्वास्थ्यकर्मी र स्वंयमसेविका सहित ४ सय १७ जना जनशक्ती परिचालन गरी खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।

उहाँले खोप लगाउन छुटेका बालबालिका जन्मिएको समयमा आई पी भी खोप अभाव रहेका अवस्थामा अहिले अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उक्त खोप लगाउन छुटेका बालबालिका पोलियो रोग लाग्ने उच्च जोखिममा रहेको खोप अभियान सुरू गरेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

खोप केन्द्र विद्यालयमा भएकाले खोप अभियान अवधिभर विद्यार्थीको अनुपस्थित हुन नदिन र अनुपस्थित भएमा नजिकैको खोप केन्द्रमा पुगेर समेत खोप लगाउनुपर्ने खोप सुपरभाइजर बिरेन्द्रकुमार चौधरीले बताउनुभयो । बालबालिकालाई एक मात्रा आईपिभी खोप दिएर पोलियो रोग विरुद्ध प्रतिरोध क्षमता बढाउने भएकाले लक्षित बालबालिकालाई खोप लगाउन ५७ जना अनुगमत समिति समेत बनाइएको बताउनुभयो ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीका अनुसार पोलियो भाइरस पी १ पी २ र पी ३ गरी तीन प्रकारका हुन्छन् र तिन वटै भाइरसबाट पोलियो रोग हुनसक्छ । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई भए पनि पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने सुवेदीले बताउनुभयो ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मजदुरी गर्ने र खोपको महत्व नबुझेकाहरु छुट्न सक्ने भएकाले लक्ष्यअनुसारका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, जिसस उपप्रमुख दिलकुमारी खत्री, बेनी अस्पतालकी निमित्त डा. अञ्जु थापा लगायतको उपस्थिती रहेको थियो ।

 

You can share this post!

जिल्ला बाल सञ्जाल म्याग्दीको अध्यक्षमा भण्डारी

मालिका धुरीमा भक्तजनलाई खानेपानीको सुविधा

Related posts