बेनीमा कोसेली घर सञ्चालनः स्थानीय उत्पादनका सम्पूर्ण सामग्री पाईने

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा स्थानीय उत्पादनका सामाग्रीको बजारीकरणका लागि कोसेली घर सञ्चालनमा आएको छ । बेनी स्थित कालीपुलमा रहेको पर्यटन सूचना केन्द्रको भवनमा म्याग्दी उद्योग बाणिज्य संघ र महिला उद्यम विकास समितिको संरक्षकत्वमा महिला उद्यमी दिलु घतानेले कोसेली घर सञ्चालनमा ल्याउनुभएको हो ।

म्याग्दी र मुस्ताङको प्रवेशद्धार मानिएको कालीपुल बसपार्क परिसरमा सञ्चालनमा आएको कोसेली घरको सोमबार बेनी नगरपालिकाका मेयर सुरत केसी र उपमेयर ज्योति लामिछानेले औपचारिक रुपमा सुभारम्भ गर्नुभएको छ । कोसेली घरलाई म्याग्दीमा उत्पादन हुने कृषि तथा लघुउद्यम सम्बन्धी सामाग्रीको खरिद विक्रि हुने साझा घरको रुपमा विकास गर्ने तयारी छ ।

जिल्लाका ६ वटै स्थानीय तहमा उत्पादन हुने कृषि उपज तथा स्थानीय सामाग्रीको बजारीकरणमा टेवा पु¥याउन र उद्यमशिलताको विकास गर्दै रोजगारि सिर्जना गर्न कोसेली घर सञ्चालनमा आएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन कुमार श्रेष्ठले बताउनुभयो । जिल्लामा उत्पादन भएका बस्तु तथा सामाग्रीहरुले बजार नपाएको कारण लघु उद्यम र कृषि क्षेत्रबाट उल्लेख्य लाभ लिन नसकिरहेको अवस्थामा कोसेली घरले कृषक, उद्यमी र उपभोक्ताहरुको बिचमा पुलको भूमिका निर्वाह गर्ने उहाँको भनाई छ ।

कोसेली घरमा डाली, नांलो, मुडा, ढाकाको साडी, सल, झोला, अल्लोको कपडालगायतका स्थानीय लघुउद्यमीहरुले तयार गरेका कपडाहरु राखिएका छन् । त्यसैगरि म्याग्दीमा उत्पादन भएका सिमि, धजरा, च्याउ, कोदो, काफरको पिठो, आलु, बेसार, गुन्द्रुक, भटमास, लसुन, भाँगो, टिमुर, मास, दाल लगायतका उपजहरुको समेत सहज उपलब्धता हुने कोसेली घरका सञ्चालक घतानेले जानकारी दिनुभयो ।

महिला उद्यम विकास समितिका द्धितिय उपाध्यक्ष समेत रहनुभएकी घताने लघुउद्यमीको रुपमा परिचित हुनुहुन्छ । कालीपुलमा कोसेली घर स्थापना भएपछि म्याग्दी आउने आन्तरिक पर्यटक तथा पाहुनाहरुले समेत कासेलीको रुपमा म्याग्दीका उत्पादनहरुलाई खरिद गरेर लैजान थालेका छन् । कोसेली घरको उद्घाटन गर्दै मेयर केसीले जिल्लामा आउने पाहुना, अतिथि र पर्यटकहरुमाझमा कोसेली घरलाई चिनारीको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

उहाँले बेनी नगरपालिका र म्याग्दी उद्योग बाणिज्य संघबिच नगरक्षेत्रमा रहेका व्यवसायिहरुबाट संघ मार्फत संकलन हुने करमा ३५ प्रतिशत रकम साझेदारी कार्यक्रम अन्तरगत उद्योगी व्यवसायिको हित प्रवद्र्धनको क्षेत्रमा परिचालन गरिँदै आएको बताउनुभयो ।

म्याग्दीमा उत्पादन भएका कृषि तथा लघुउद्यमका बस्तु तथा सामाग्रीलाई बजारीकरण गर्दै उद्यमशिलताको विकासमा सघाउन कोसेली घर सहयोगी बन्ने अपेक्षा गरिएको छ । बेनी नगरपालिकाले समेत नगरक्षेत्रमा महिला उद्यमशिलताको विकास गर्न उपमेयर संघ आमा समूह कार्यक्रम मार्फत विभिन्न उद्यमशिलताका कार्यक्रम सञ्चालन गर्दै आएको छ । आफुले उत्पादन गरेका सामाग्रीको बजारीकरणको सुनिश्चिता भएमा महिलाहरु उद्यमशिलतामा जोडिने र यसले स्थानीय स्तरमा रोजगार र आत्मनिर्भरता बढाउने बेनी नगरपालिकाका उपमेयर ज्योति लामिछानेले बताउनुभयो । तस्विरः कमल खत्री

You can share this post!

म्याग्दीमा धान दिवस मनाइयो

पाखापानीमा जनजातिहरुको नेतृत्व विकास सम्वन्धी अभिमुखिकरण कार्यक्रम

Related posts