म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङको शिरमा पर्ने धौलागिरी र मानापाथि हिमशृङ्खलाको बिचबाट खसेको हिमपहिरोले थुनिएको खोला बग्न थालेको छ । शुक्रवार दिउँसो करिब साढे १ बजे हिमपहिरो खसेपछि मुस्ताङको बोक्सी खोलाको सहायक खोला थुनिएको थियो ।
हिमालबाट खसेको हिमपहिरो बुकीको चौर र हिमालको फेदीबाट बग्ने खोलामा थुप्रिएपछि थुनिएको खोलाको पानी बग्न थालेको थासाङ गाउँपालिका– २ का वडा अध्यक्ष गौतम शेरचनले बताउनुभयो । उहाँका अनुसार, बोक्सीखोलामा धौलागिरी र मानापाथि हिमशृङ्खलाका विभिन्न ३÷४ वटा मुहानबाट आउने पानी मिसिने गरेको छ । त्यसमध्ये एउटा मुहानबाट बग्ने पानी हिमपहिरोले पुरिएर करिब तीन घण्टासम्म पूर्ण रुपमा थुनिएको थियो ।
‘‘साँझदेखि पानीले हिउँका डल्लाहरु बगाएर ल्याएको छ, हिउँपहिरोबाट खसेको हिउँले पुरिएर थुनिएको पानी विस्तारै हिउँलाई पगालेर बग्न थालेको छ, बोक्सीखोलामा पानीको सतह बढ्दै गएको छ’’–वडा अध्यक्ष शेरचनले भन्नुभयो । बोक्सीखोला कालीगण्डकी नदीमा मिसिएको छ ।
हिम पहिरोले खोला थुनिएपछि खोला आसपासका बस्तीमा सतर्कता अपनाइएको छ । हिउँ पहिरोले थुनिएको पानी एकै पटक बगेर आउँदा बाढी आउने जोखिम बढेपछि खोला आसपासका एक दर्जन घरका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।