पिताको मार्ग पछ्याउँदै अन्नपूर्ण क्षेत्रमा आउनुभएका फ्रान्सेली नागरिक माथिएस हर्जोगले प्राकृतिक सुन्दरताले भरिपूर्ण अन्नपूर्ण प्रथम हिमालको विश्वभर प्रचारप्रसार गर्न अनुरोध गर्नुभएको छ । अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोहण गरेर पहिलो आरोहीको किर्तिमानी बनाउनुभएका फ्रान्सेली आरोही मौरिस हर्जोगका छोरा माथिएस म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित अन्नपूर्ण हिमालको अधार शिविरमा पुग्नुभएको हो ।
८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर विश्वमै पहिलो आरोहीको किर्तिमानी राख्नुभएका आफ्ना पिता हिडेको मार्ग पछ्याउँदै माथिएस शनिबार अन्नपूर्ण आधार शिविर पुग्नुभएको थियो । ७५ वर्ष अघि पिता हिडेको मार्ग हुँदै शनिबार माथिएस आधार शिविर पुगेर फर्किनुभएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले जानकारी दिनुभयो । माथिएसले आधार शिविर स्थित पञ्चकुण्ड ताल नजिक राखिएको पिता मौरिसको शालिकमा माल्यापर्ण गर्नुका साथै सामुहिक तस्विर पनि खिच्नुभएको थियो । उहाँले आधार शिविर पुगेर केही बेर ध्यान पनि गर्नुभएको गुरुङले बताउनुभयो ।
शुक्रबार माथिएस नारच्याङबाट सुरु हुने मौरिस हर्जोग पदमार्गमा पदयात्रा गर्दै ४ हजार एकसय ९० मिटर उचाईमा रहेको आधार शिविर पुग्नुभएको पदमार्गका अभियन्ता गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो, ‘‘पदयात्राका क्रममा माथिएसले ७५ वर्ष पहिला आफ्ना पिता हिडेको मार्ग देखेर चकित हुनुभयो । अहिले जस्तो उवेला पदमार्ग थिएन । भिरपहराको बाटो हुँदै मौरिस यही बाटो भएर अन्नपूर्ण हिमाल आरोहण गर्नुभएको बारेमा हामीले उहाँलाई जानकारी गराएपछि उहाँ दङ्ग पर्नुभयो ।’’
माथिएसले अन्नपूर्ण र मौरिस हर्जोग पदमार्गलाई विश्वभर चिनाउन आफूले सक्दो पहल गर्ने बताउनुभयो । माथिएसले भन्नुभयो, ‘‘जेठो हिमाल भनेर चिनिने अन्नपूर्ण अहिले गुमनाम जस्तै छ । अन्नपूर्णको पर्यटकीय सम्भावनाका वारेमा विश्वभर प्रचारप्रसार गर्नुपर्दछ । मौरिस हर्जोग पदमार्ग,आधार क्षेत्र लगायतका स्थानहरुमा पर्यटन पूर्वाधार निर्माण गरेर विश्वभरका पर्यटकहरुलाई यस क्षेत्रमा ल्याउनुपर्दछ ।’’
आगामी सन २०२५ जुन ३ मा अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा माथिएसले ८२ वर्षीय आमा सहित सम्पूर्ण परिवार अन्नपूर्णको पदयात्रामा आउने प्रतिवद्धता व्यक्त गरेको गुरुङले बताउनुभयो । उहाँका अनुसार पिताले लेखेको द अन्नपूर्ण किताबलाई नेपाली लगायत अन्य भाषाहरुमा पनि अनुवाद गरेर प्रकाशित गर्ने कुरा माथिएसले बताउनुभएको छ । सर्वोच्च शिखर सगरमाथामा मानव पाईला पुग्नुभन्दा तीन वर्षअघि ३ जुन १९५० मा मौरिस सहितको फ्रान्सेली टोलीले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको थियो ।
हर्जोगले अन्नपूर्ण आरोहण गरेको सम्झनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधारशिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरण समेत गरेको छ भने आधार शिविरमा रहेको पञ्चकुण्ड ताल नजिक मौरिसको सालिक समेत राखेको छ । माथिएसको अन्नपूर्ण क्षेत्रको भ्रमणले यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको पालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ । पदमार्गमा रहेको फुतफते झरना,आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तब्यका रुपमा विकास भएको छ ।
अन्नपूर्ण आधार शिविरमा पुग्नुभएका माथिएस हर्जोग र स्थानीयहरु । तस्विर तेज गुरुङ