म्याग्दी, ६ असोज । बेनीको न्युरोडबाट संचालित बिश्वामित्र बचत तथा रिण सहकारी संस्था लिं को ११ औँ स्थापना दिवस बिभिन्न कार्यक्रमका साथमा मनाईएको छ ।
बुधबार सहकारीको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सहकारीका संस्थापक पदाधिकारीहरुलाई सम्मान, छात्रबृत्ती प्रदान, र राहत बितरण गरि दिवस मनाइएको हो । २०६८ साल असोज ६ गते स्थापना भएको सहकारी सफलताका साथ ११ औँ बर्षमा प्रवेश गरको छ ।
स्थापना दिवसका अबसरमा सहकारीका संस्थापक अध्यक्ष लक्ष्मी कुमारी केसी, उपाध्यक्ष, तारा भण्डारी, सचिव कृष्ण सिं बानीयाँ, कोषाध्यक्ष, भावना पौडेल, सहसचिव कमला घर्ति र ६ जना सदस्यहरु गरि ११ जनालाई सम्मान गरिएको अध्यक्ष याम बहादुर बानीयाँले जानकारी दिनुभयो । सहकारीलाई आजको स्थान सम्म ल्याउनका लागि संस्थापकहरुको महत्वपूर्ण भुमिका रहेको भन्दै दोसल्ला र सम्मान पत्र द्वारा सम्मान गरिएको अध्यक्ष बानीयाँले बताउनुभयो ।
दिवसकै असबरमा सहकारीको शिक्षा कोषबाट पौलस्त्य माबि भिरमुनीमा कक्षा ९ मा अध्ययनरत छात्रा प्रकृति बानीयाँलाई गरिब तथा जेहेन्दार छात्रबृत्ति प्रदान गरिएको छ । सहकारीका शेयर सदस्य रघुगंगा गाउँपालिका अध्यक्ष समेत रहेका भव बहादुर भण्डारीको ब्यक्तिगत तर्फबाट रु दुइ हजार पाँच सय र सहकारीको शिक्षा कोषबाट रु दुई हजार पाँच सय गरि रु पाँच हजार प्रदान गरिएको उपाध्यक्ष भोज बहादुर रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सहकारीको मानबिय सहायता कोषबाट बेनपा ४ का कर्ण बहादुर कार्की र बेनपा १ का लाल बहादुर किसानको परिवारलाई खाद्यान्न बितरण गरिएको छ । स्थापना दिबसकै अबसरमा बेनपा ६ का मृगौला पिडित खिम नेपाली र बेनपा ५ का पहिरो पिडित प्रेम प्रसाइँको परिवारलाई रु दुई हजार पाँच सयका दरले सहयोग गरेको सहकारीले शेयर सदस्य कल्याणकारी कोषबाट होम देबी खत्रीलाई रु पाँच हजार प्रदान गरेको छ । शेयर सदस्य खत्रीको ससुराको हालै निधन भएको थियो ।
कार्यक्रममा बोल्दै सहकारीका संस्थापक अध्यक्ष लक्ष्मी केसीले आफुले जन्माएको संस्था भएकाले सन्ततीको जतिकै माया भएको भन्दै स्थापना कालमा घरघरमा पुगेर शेयर रकम संकलन गरेको स्मरण गर्नुभयो । उहाँले सहकारीको लोकप्रियता र गरिमालाई जोगाइ राख्नका लागि नयाँ संचालक समितिलाई योजना बनाएर काम गर्न सुझाब दिनुभयो ।
सहकारीका संस्थापक सचिव एबँ पूर्व अध्यक्ष कृष्ण सिं बानीयाँले सामाजिक, मानबिय सेवा र शैक्षिक क्षेत्रमा सहकारीले गरेका गतिबिधिलाई निरन्तरता दिइने बताउनुभयो । कार्यक्रम सहकारीका अध्यक्ष याम बहादुर बानीयाँको अध्यक्षता, उपाध्यक्ष रिजालको स्वागत र सचिव भिम बहादुर खत्रीको संचालनमा सम्पन्न भएको थियो ।