म्याग्दी, ९ असोज । नेपाली कांग्रेस मंगला गाउँपालिकाको सभापतिमा नरसिंह खत्री चयन हुनुभएको छ । शनिबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न भएको पालिका अधिबेशनले खत्रीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति चयन गरेको हो । गाउँपालिकाको उपसभापतिमा भागीरथ उपाध्याय र विलबहादुर पुन, सचिवमा चित्रराज आचार्य र विरेन्द बुढाथोकी, सह–सचिवमा नेत्रराज सुवेदी र विमल सुनार चयन भएका छन् ।
त्यस्तै सहमतिमै मालिका गाउँपालिकाको सभापतिमा खिम पुन मगर निर्बाचित हुनुभएको छ । ४५ सदस्यीय गाउँपालिका समितिको उपसभापतिमा बिरेन्द्र पुन, मिम पुन, सचिवमा विरेन्द्र किसान र तारा रोका, सह सचिवमा श्याम बुढाथोकि र अमृत सापकोटा चयन हुनुभएको छ । कोषाध्यक्ष भने अध्यक्षले मनोनित गर्ने बताइएको छ ।
धौलागिरी गाउँपालिकाको सभापतिमा प्रेम पुन निर्बिरोध निर्बाचित हुनभएको छ । शनिबार मुनामा सम्पन्न पालिका अधिबेशनबाट पुनको अध्यक्षतामा ५४ सदस्यीय कार्य समिति निर्बाचित भएको हो । कार्यसमितिको उपसभापतिमा हरि छन्त्याल, प्रेम विक, सविचमा नगेन्द्र मल्ल, देबेन्द्र रोका, कोषाध्यक्षमा बुद्धीमान शेरपुञ्जा, सहसचिवमा कमल खत्री र रोशन थापा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै सर्बसम्मत रुपमा नै रघुगंगा गाउँपालिका अधिबेशन पनि शनिबार नै सम्पन्न भएको छ । अधिबेशनबाट गाउँपालिका वडा नं ६ का अध्यक्ष समेत रहनुभएका मन कुमार शेरपुञ्जा सभापतिमा निर्बाचित हुनुभएको छ ।
उता अन्नपुर्ण गाउँपालिकामा भने निर्बाचन मार्फत सभापतिमा क्या. बल बहादुर तिलिजा बिजयी हुनुभएको छ । सभापतिका लागि सहमतिमा टुंङ्गो नलागेपछि शनिबारनै निर्बाचन गरिएको थियो । प्रतिस्पर्धी कृष्ण बरुवाललाई १ मतले जित्दै तिलिजा सभापतिमा निर्बाचित हुनुभएको हो । तिलिजाले ५८ र बरुवालले ५७ मत प्राप्त गर्नुभएको थियो । कार्यसमितिको उपसभापतिमा राजेश तिलिजा, अर्जुन गुरुङ्ग, सचिवमा टुक बहादुर फगामी, ललिता तिलिजा, सहसचिवमा गोपाल पुर्जा र धन बहादुर पाइजा सर्बसम्मत रुपमा निर्बाचित हुनुभएको हो । यता बेनी नगरपालिकामा भने आइतबार निर्वाचन हुने नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।