म्याग्दी । अखिल नेपाल महिला संघ म्याग्दीले पुलाचौरमा भएको बलत्कारको घटनामा संलग्न दोषिहरुलाई यथाशिघ्र कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
बुधबार अनेमसंघ म्याग्दीका अध्यक्ष थमसरा पुन, नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य, तथा प्रदेश सभा सदस्य नरदेवी पुन लगाएतका महिला नेताहरुले प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानालाई सो ज्ञापन पत्र बुझाउनु भएको हो ।
अध्यक्ष पुन द्वारा हस्ताक्षरित बिज्ञप्तीमा घटना संलग्न दोषिहरुलाई हाल सम्म पनि अनुसन्धानको दायरामा ल्याउन नसक्नु प्रशासनिक अक्षमता भएको उल्लेख गरिएको छ । घटनामा संलग्नलाई पक्रन नसक्नु राजनीतिक दवाव हो भन्दै पीडित महिलालाई न्यायका लागि दोषिहरुलाई तुरुन्त कावार्ही गर्न अनेमसंघले जोडदार माग गरेको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रानाले घटनामा कुनै पनि राजनैतिक चलखेल नभएको र फरार रहेका हरुको खोजी कार्य भइरहेको बताउनुभयो । दोषिहरुलाई पक्राउ गर्नसाथ घटनाको सत्यतथ्य छानविन गरि दोषिलाई कानून अनुसारको सजायँ दिलाउने उहाँले बताउनुभयो ।
कार्तिक २ गते राती बेनपा ५ पुलाचौरकी एक महिलालाई घरमा सुतिरहेको अबस्थामा स्थानीय तिन जना पुरुषहरुले सामुहिक बलत्कार गरेका थिए । घटनामा संलग्न ब्यक्तिहरुलाई यथाशिघ्र पक्राउ गर्नका लागि बिभिन्न ब्यक्ति तथा संघ संस्थाहरुबाट दवाव सृजना भइरहेको छ ।