म्याग्दीको बेनीमा श्रीमद्भागवत् गीता ज्ञान महायज्ञ सुरु, धर्मलाई पर्यटनसँग जोड्नुपर्ने पर्यटन मन्त्री शर्माको भनाइ

२५ कार्तिक २०७८, बिहीबार ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय शाखा बेनी, म्याग्दीको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा श्रीमद्भागवत् गीता ज्ञान महायज्ञ सुरु भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको निःशुल्क, निस्वार्थ एवं निशर्त सेवा कार्यक्रमअन्तर्गत महायज्ञको व्यवहारिक एवं वैज्ञानिक प्रवचन कार्यक्रम आयोजना गरिएको हो ।

महायज्ञको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले धर्मलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले धर्मको प्रचारप्रसार सँगसँगै पर्यटनको समेत विकास गर्न सकिने बताउँदै पर्यटन प्रवद्र्धनका लागि धार्मिक क्षेत्रको प्रचारप्रसार तथा संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । मानिस एक ठाउँबाट अर्को ठाउँमा जाँदा त्यहाँ आर्थिक गतिविधि हुने भएकाले धार्मिक यात्रा पनि पर्यटन भएको उहाँको भनाइ छ ।मन्त्री शर्माले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र बेनी म्याग्दीको आश्रम निर्माणका लागि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने बताउँदै आफूले धर्मलाई पर्यटनसँग जोड्ने धारणा राख्नुभयो ।

आश्रमलाई व्यवस्थित बनाउन सहयोग जुटाउने बताउँदै उहाले तनाव व्यवस्थापनका लागि योग, ध्यान तथा सकारात्मक सोच र सन्तुलित आहारविहार गर्नेतर्फ जोड दिनुपर्ने बताउनुभयो । धार्मिक एवं पर्यटनको विकासमा प्रदेश सरकारले जोड दिएको भन्दै मन्त्री शर्माले धर्मसँगै पर्यटनको विकासमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

महायज्ञ सञ्चालनको उद्देश्यमाथि प्रकाश पार्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालका महासचिव शैलेसराज बरालले दैनिक जीवनमा बढ्दो तनाव व्यवस्थापन, शान्ति स्थापना र सकारात्मक सोचको विकासका लागि श्रीमद्भागवत् गीता ज्ञान महायज्ञ तथा व्यवहारिक एवं वैज्ञानिक प्रवचन कार्यक्रमले महत्वपूर्ण भूमिका निभाउने अपेक्षा व्यक्त गर्नुभयो ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका निर्देशक ब्रह्माकुमारी प्रणिता दिदीले योग, ध्यान र तपस्याले आध्यात्मिक जागृति एवं स्वयंको सत्य पहिचान, तनाव व्यवस्थापन तथा द्वन्द्व न्युनीकरण हुने बताउनुभयो ।

महायज्ञको उद्घाटनसत्रमा गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ तथा आयोजक संस्थाका पदाधिकारीको विशेष उपस्थिति रहेको थियो । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका निर्देशक ब्रह्माकुमारी प्रणिता दिदीको अध्यक्षता र ब्रह्माकुमार शिशिर रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा धौलागिरि क्षेत्र बागलुङका प्रमुख सावित्री दिदीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा स्वागत गीत र नृत्य पनि प्रस्तुत गरिएको थियो ।

औपचारिक कार्यक्रम सुरु हुनुपूर्व सदरमुकाम बेनीबजारमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय शाखा बेनी, म्याग्दीसहित जिल्लास्थित विभिन्न संघसंस्था, जातजाति, नौमती बाजा र भजनकिर्तनका साथै नाचगान गरेर बजारको परिक्रमा गरिएको थियो । आउँदो सोमबारसम्म म्याग्दीको बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको महायज्ञमा ब्रह्माकुमारी अप्सरा दिदीले प्रवचन सुनाउने कार्यक्रम रहेको छ ।

You can share this post!

दैनिक उपभोग्य बस्तुहरु र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको अनेरास्ववियुद्वारा विरोध

जनगणना आजदेखि सुरु

Related posts