पछिल्लो दुई वर्ष देखि बेनी नगरपालिकालाई भाडा तिर्दै आएको भए पनि जग्गा उपलब्ध नगराईदिएको भन्दै नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले बेनी नगरपालिकालाई पत्राचार गरेको छ ।
बेनी नगरपालिकाले पत्रकार महासंघको कार्यालय सञ्चालन गर्नका लागि बेनी नगरपालिका–७ मा रहेको १४१९ कित्ता नम्बरको चार आना जग्गा वार्षिक दश हजार रुपियाँ भाडा तिर्नेगरी उपलब्ध गराएको थियो ।
वि.सं. २०७६ सालमा नगरपालिकाले नेपाल पत्रकार महासंघलाई भाडामा दिएको भए पनि त्यस जग्गामा रहेको भवनमा बस्दै आएका व्यक्तिले नछाडेपछि मङ्गलबार बसेको पत्रकार महासंघ जिल्ला शाखाको बैठकले खाली गरिदिन अनुरोध गर्दै पत्राचार गर्ने निर्णय गरेको थियो ।
शाखाको बैठकको निर्णय बमोजिम जग्गा र भवन खाली गरिदिन अनुरोध गर्दै नेपाल पत्रकार महासंघले बेनी नगरपालिकालाई पत्राचार गरेको हो । अध्यक्ष प्रकाश पौडेलको नेतृत्वमा नगरपालिकामा पुगेको पत्रकार महासंघको टोलीले प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाललाई पत्र बुझाएको छ ।
महासंघले भाडा तिर्दै आएको भवन प्रयोग गर्ने वातावरण बनाउन अनुरोध गरिएको शाखा अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यसभन्दा पहिला म्याग्दीमा खाद्य संस्थान रहँदै गर्दा खाद्य संस्थानको नाममा रहेको जग्गा संस्थानले व्यक्तिलाई बिक्री गरेको थियो । उक्त जग्गा किनेका व्यक्तिले तत्कालिन अर्थुङगे गाविसलाई उपलब्ध गराएको जग्गा नगरपालिकाको नाममा आएको थियो । उक्त जग्गा नेपाल पत्रकार महासंघको कार्यालय व्यवस्थापनका लागि दुई वर्षअघि भाडामा दिएको थियो । नगरपालिकाले पत्रकार महासंघलाई भाडामा दिएको जग्गामा रहेको भवनमा नेत्रबिक्रम चन्द ९विप्लप० नेतृत्वको नेकपाको संरक्षणका आडमा मंगला गाउँपालिका १ कुहुँकी समीक्षा विश्वकर्मा बस्दै आउनुभएको छ ।
२०७६ मंसिर १७ गते बेनी नगर कार्यापालिकाको पूर्ण बैठकको निर्णय बमोजिम १० वर्ष भोगचलन गर्नका लागि दिइएको थियो । कार्यापालिकाको बैठकको निर्णय बमोजिम २०७६ पुस ३ गते प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद शर्मा र तत्कालिन पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा बीच मुलुकी संहिता–२०७४ को परिच्छेद १२ दफा ६१२ र ६१७ को उपदफा क बमोजिमका बुँदा सहित सम्झौता भएको थियो । संहिताको ६१७ को उपदफा क मा घर निर्माण गर्न लिइएको घर जग्गा वा घर निर्माण भई भोगचलनमा रहेको घरजग्गा भएमा पैतीस वर्ष सम्झौता कायम रहने उल्लेख छ ।
नेपाल पत्रकार महासंघले भाडा तिरिरहेको बेनी नगरपालिकाको भवन कब्जा गरेर बसेकी विश्वकर्माले नछोड्दा र नेत्रबिक्रम चन्द ९विप्लप० नेतृत्वको नेकपाको अवरोधका कारणले गर्दा गण्डकी प्रदेश सरकारले नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको दश लाख रुपैयाँ बजेट कार्यान्वयनमा समस्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको बेनी ब्यारेक, प्रमुख जिल्ला अधिकारी एवम् राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृतको क्वाटरको एक सय मिटर पेरिफेरी भित्रै खुल्ला राजनीतिमा आएको दलले सरकारी एवम् व्यक्तिगत जग्गा तथा भवन कब्जा गरेर बस्दा समेत सुरक्षा निकायहरु मौन बस्नु नहुने स्थानियको भनाई छ ।