म्याग्दी । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले बेनी नगर कमिटि अध्यक्ष नारायण जिसीलाई प्रशंसा पत्र प्रदान गर्नुभएको छ ।
पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको अवसरमा सार्वजनिक गरिएको “हाम्रो नेपालमा राम्रो एमाले” बोलको गीतमा उत्पादन सहयोगीको भूमिकामा रहेका जिसीलाई उहाँको योगदानको उच्च कदर गर्दै अध्यक्ष ओली द्वारा हस्ताक्षरित उक्त प्रशंसा पत्र प्रदान गरिएको हो ।
चर्चित लोक दोहोरी गायक बैकुण्ठ महत र प्रीया भण्डारीको आवाजमा रहेको उक्त गीतको शब्द तथा संगीत लोकप्रीय गीतकार एकनारायण भण्डारीले सृजना गर्नुभएको छ ।
महाधिवेशनको अवसरमा लाखौ जनताहरुमाझ अध्यक्षको हातबाट उक्त प्रशंसा पत्र प्राप्त गर्दा निकै खुसी लागेको नगर कमिटि अध्यक्ष जिसीले बताउनुभयो । कामको कदर हुँदा पार्टीको हरेक गतिविधिमा अझै सक्रिय भएर अगाडि बढ्ने उत्साह थपिएको जिसीले बताउनुभएको छ ।
‘मैले पाएको यो सम्मान एमाले म्याग्दीको लागि गर्वको बिषय हो’ जिसीले भन्नुभयो, “पार्टीको हितका लागि म सधैँ समर्पित र तत्पर रहनेछु” । राष्ट्रिय महाधिवेशनमा करिव दुइ हजार म्याग्देली सहभागी रहेको ¥यालीको कमान्ड गरेका जिसीले छिचोल्नै नसकिने भिडका कारण प्रशंसा पत्र लिन स्टेज सम्म जान नसक्दा भने दुख लागको बताउनुभयो ।
हालैमात्र नेकपा एमाले म्याग्दीको बेनी नगर कमिटिको अध्यक्षमा निर्वाचित हुनुभएको जिसी राजनीति संगै समाजसेवामा पनि सक्रिय हुनुहुन्छ । सेवा, सहयोग र सद्भावलाई प्राथमिकतामा राखेर राजनीतिक यात्रालाई अगाडि बढाउने जिसीले बताउदै आउनुभएको छ ।