एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चितता गोष्ठी दरबाङमा सुरु, समुदायस्तरमा बालबालिकाको कुपोषण घटाउनुपर्नेमा सरोकारवालाको जोड

प्रताप बानियाँ, म्याग्दी ।पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा हिँजो (सोमबार)देखि एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चितता गोष्ठी सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा गोष्ठी सञ्चालन गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले विभिन्न कारणले गर्दा बालबालिकाहरुमा पोषणको कमी देखिएको बताउनुभयो । उहाँले भर्खरै जन्मिएका बालबालिकाहरुले पोषणयुक्त खानेकुरा नपाउँदा शारिरीक तथा बौद्धिक विकासमा समेत असर पुगेको बताउँदै उनीहरुको स्वास्थ्य तथा पोषणको अवस्थामा सुधार ल्याउनका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । पोषण तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु विद्यालयस्तरमा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले ग्रामीण भेगमा अझै पनि बालबालिकाहरुमा कुपोषणको अवस्था कायमै रहेकाले यसको न्युनीकरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले पोषणको कमीका कारण बालबालिकाको समग्र स्वास्थ्य अवस्था कमजोर हुनेहुँदा दक्ष नागरिक उत्पादनमा पनि समस्या आउने बताउँदै व्यक्ति, परिवार तथा समुदाय र सरोकारवालाको पहलमा कुपोषणको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

बहुक्षेत्रीय पोषणका क्षेत्रमा भए, गरेका क्रियाकलापहरुको पुनरावलोकन गरी पोषण तथा स्वास्थ्यको विकासमा जनप्रतिनिधिहरुको भूमिका र प्रतिबद्धता सुनिश्चितता गर्दै बहुक्षेत्रीय पोषणका क्षेत्रमा भएका विभिन्न नवीनतम् क्रियाकलापहरुको निरन्तरता तथा लगानी वृद्धिका लागि साझा प्रतिबद्धता तयार गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको सुआहाराले जनाएको छ ।

कार्यक्रमको अवधिमा पोषणको महत्व, औचित्य र आवश्यकता, विषयगत क्षेत्रहरुको विद्यमान अवस्था, एकीकृत पोषण सेवाको दीगोपनाका लागि सुदृढ प्रणाली, एकीकृत कार्ययोजना निर्माण र प्रस्तुतीकरण, प्रतिबद्धता घोषणा, पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक र पालिकास्तरीय कोभिड खोप व्यवस्थापन तथा संक्रमण रोकथामसम्बन्धी कार्यक्रम लगायतका विषयहरुमा सहजीकरण गरिने तय गरिएको छ ।

कार्यक्रममाथि सुआहारा कार्यक्रमको बागलुङ–म्याग्दीका वरिष्ठ कार्यक्रम संयोजक राजेन्द्र अधिकारी, पोषण तथा स्वास्थ्य अधिकृत रामचन्द्र पन्थी, घरायसी खाद्यान्न तथा बजारीकरण अधिकृत केशव भूषाल र म्याग्दीका फिल्ड संयोजक बालकुमारी पुनले सहजीकरण गरिरहनुभएको छ । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा मालिका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य र विषयगत शाखाका प्रमुखसहित २५ जनाले सहभागिता जनाएका छन् ।


गोष्ठीमा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्की, कृषि शाखा प्रमुख शिक्षित पराजुली, खानेपानी तथा सरसफाई स्वच्छता (वास)का फोकलपर्सन नवनारायण ढुङ्गाना र शिक्षा शाखाको नायव सुब्बा सुन्दर खत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमको उद्घाटनसत्र गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको अवसरमा जनप्रतिनिधि, कर्मचारी, आयोजक र सहभागीहरुको उचाइअनुसार शरिरको तौल नापजाँच (बिएमआई) गर्नुका साथै तथा सुगरको समेत परीक्षण गरिएको थियो ।

 

You can share this post!

अन्नपुर्ण गाउँपालिकाको गाउँसभा दुई करोड ६५ लाख रुपैयाँ बढी बजेट विनियोजन

स्थानीय तहको निर्वाचन मिति तुरुन्त घोषणा गर्नको लागि राष्ट्रीय युवा संघको दवाव मुलक कार्यक्रम

Related posts