थारु आयोगको प्रतिवेदन संसद्‍मा पेश अर्को बैठक फागुन ६ गते

काठमाडौं, फागुन ४ गते । संघीय संसद्को प्रतिनिधिसभा बैठकमा थारु आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेस गर्नुभएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबीच उक्त प्रतिवेदन पेश भएको हो ।

बैठकले विभिन्न समयमा दिवङ्गत हुनुभएका तीन पूर्वसांसद तथा तत्कालीन संविधानसभाका सदस्यको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले छुट्टाछुट्टै पेश गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो। बैठकले नेपाली कांग्रेसकोतर्फबाट २०६४ सालको संविधानसभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य जगतबहादुर ताजपुरियाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। ताजपुरियाको ७८ वर्षको उमेरमा गत पुस १७ गते शनिबार निधन भएको थियो।

सँगै बैठकले राष्ट्रियसभामा २०५८ सालमा तत्कालीन नेकपा एमाले का तर्फबाट निर्वाचित सदस्य नेता लक्ष्मीदास मानन्धरको निधनप्रति पनि शोक प्रस्ताव पारित गरेको छ। मानन्धरको ९३ वर्षको उमेरमा गत माघ ६ गते निधन भएको थियो।

यस्तै बैठकले २०७० सालको संविधानसभामा तत्कालीन एमालेकातर्फबाट निर्वाचित सदस्य डा। दुमनसिंह थापाको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। थापाको ६३ वर्षको उमेरमा गत माघ १६ गते निधन भएको थियो।

बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो। अर्को बैठक फागुन ६ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

You can share this post!

बेनी नगरपालिकाको घतानमा व्यवसाय सचेतनासम्बन्धी तालिम सुरु, उद्यमी बनेर रोजगारी सिर्जना गर्नुपर्नेमा सरोकारवालाको जोड

स्थानीय तह चुनावको प्रचार अवधि १३ दिन मात्रै

Related posts