म्याग्दी ,फागुन ९ । बेनी बजारका भित्री गल्लीलाई नमुना गल्ली बनाउन सुरु गरिएको छ । बेनी नगरपालिका वडा नम्बर ८ को कार्यालयले चालु आर्थिक वर्षको बजेटबाट बजार भित्रका गल्लीमा ढल व्यवस्थापन तथा अनावश्यक संरचनाहरु हटाएर गल्लीलाई चक्ला बनाई नमुना गल्ली बनाउन लागेको हो ।
चालु आर्थिक वर्षको ५ लाख रुपैयाँको बजेटबाट तिन ठाउँमा नमूना गल्ली निर्माण भएका छन । बेनपा ८ भित्रका एनसिसि गल्ली, घतानचोक गल्ली र खानेपानी गल्लीलाई नमूना गल्लीको रुपमा निर्माण गरिएको वेनी नगरपालिका वडा नं ८ का अध्यक्ष रामकृष्ण बराईलीले बताउनुभयो ।
बजारका भित्री गल्लीमा ब्यवसायी तथा घरधनीहरुले आफुखुसी निर्माण गरेका संरचनाले गल्लीहरु साघुरो र अव्यवस्थित भएकाले सवारीचालक तथा पैदलयात्रीहरुलाई पनि असहज भएको थियो । नमुना गल्ली निर्माण भएपछि सर्वसाधरणहरुलाई आवतजावत गर्न सहज भएको छ ।
गल्लीमा भएका अनावश्यक संरचनाहरुलाई हटाइएको छ । खानेपानीका पाइप र ढललाई पनि ब्यबस्थित र सुरुक्षित बनाइएको छ । ढल बुझिएर समस्या आएमा खुलाउनका लागि ठाउँठाउँमा ढकनी समेत राखिएको वडा अध्यक्ष बराइलीले बताउनुभयो ।
टेवर कंक्रिट बिछयाएपछि गल्ली फराकिलो र आकर्षक पनि देखिएको नमूना गल्ली निर्माण उपभोक्ता समितिका अध्यक्ष मोहन बरुवालले बताउनुभयो । अध्यक्ष बरुवालका अनुसार हाल घतानचोक गल्ली र एनसीसी गल्ली निर्माण सम्पन्न भइसकेको छ भने खानेपानी गल्लीको निर्माण कार्य संचालन भइरहेको छ । यस गल्ली निर्माण लागि बजेट अपुग भएपछि थप बजेट ब्यबस्थापनका लागि वडामा माग गरिएको अध्यक्ष बरुवालले बताउनुभयो । नमूना गल्ली निर्माण भएपछि सवारीचालक तथा पैदल यात्रीहरुलाई सहज हुने विश्वास गरिएको छ ।