टर्मिनल भवन निर्माण सुरु

फागुन १०  गते । बेनीको कालिपुल बसपार्कमा करिब तिन करोड रुपैयाँ लागतमा टर्मिनल भवन बनाउन सुरु गरिएको छ । बसपार्कलाई आधुनिक र व्यवस्थित बनाउन निर्माण गरिएको गुरुयोजना अन्तर्गत टर्मिनल भवन बनाउन लागिएको हो

बसपार्कमा टर्मिल भवनका साथै सार्वजनिक शौचालय,बाथरुम,टिकट काउन्टर र यात्रु प्रतिक्षालय लगायतका पूर्वाधारहरु निर्माण सुरु भएको बेनी नगरपालिका ८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो । सघन सहरी तथा भवन डिभिजन कार्यालय बागलुङले गत पुस १३ गते भ्याट बाहेक दुई करोड ४८ लाख रुपैयाँमा शुभ कन्स्ट्रक्सन काठमाण्डौं सँग ठेक्का सम्झौता गरेको छ ।

१५ महिना भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण व्यवसायी मंगलबार देखि कार्यस्थलमा परिचालन भई फाउन्डेशनको काम सुरु भएको इन्जिनियर मिलनजंग बस्नेतले बताउनुभयो । उहाँका अनुसार अपाङमैत्री बन्ने टर्मिनल भवन एकतलाको हुने छ । साथै पार्किङस्थल ढलान गरिने छ । बसपार्क निर्माण गर्न २०७४ मा सहरी विकास मन्त्रालयले बेनी बसपार्क गुरुयोजना बनाउन २१ करोड रुपैयाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको थियो ।

२०६४ देखि प्रयोगमा आएको बसपार्कलाई व्यवस्थित बनाउन तयार पारिएको डिपिआर ३ वर्षपछि कार्यान्वयनमा आएको हो । डिपिआर अनुसार गत वर्ष देखि बसपार्कमा पूर्वाधार निर्माण थालिएको बेनी नगर कार्यपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नम्बर ८ का वडाध्यक्ष बराइलीले बताउनुभयो । गुरुयोजना अनुसार बसपार्कमा नगरपालिका,प्रदेश र संघिय सरकारले बजेट विनियोजन गरी निर्माण थालिएको उहाँले बताउनुभयो ।

गत वर्ष बसपार्कमा रहेको बास्केटबल मैदानलाई कालीगण्डकी किनारमा स्थानान्तरण गरी खेलमैदान ढलान र प्याराफिट निर्माण गरिएको थियो । गत वर्ष नै बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा बसपार्कको ट्याक्सी पार्किङ गर्ने ठाउँमा ढलान गरिएको थियो । गत वर्ष नै बसपार्कमा यात्रु प्रतीक्षालय, सार्वजनिक शौचालय, टिकट काउन्टर र चिया तथा खाजा पसलका लागि टहरा निर्माण गरिएको थियो । बसपार्कमा व्यवस्थित संरचनानिर्माण,कालोपत्रे र ढलान हुन थालेपछि धुलो, हिलो र अव्यवस्थित पार्किङको केही रुपमा भएपनि हटेको छ ।

२०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क स्थापना भएको थियो । बेनीदेखि काठमाडौं, पोखरालगायत देशका विभिन्न ठाउँ, मुस्ताङ, म्याग्दीको उत्तरी क्षेत्रमा छुट्ने गाडी र ट्याक्सी यहाँ पार्किङ गरिन्छ । गाडी छुटाउने र यात्रु ओर्लने ठाउँ पनि कालीपुल नै हो । कालिपुल बसपार्क अव्यवस्थित हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् ।

 

You can share this post!

तातोपानी कुण्ड खुलेको एक सातामै छसय बिरामी आए

सामाजिक विकास कार्यालयद्धारा युथक्लबलाई खेलकुद सामाग्री सहयोग

Related posts