बेनीमा अन्तरपुस्ता हस्तान्तरण बिषयक अन्तरक्रिया कार्यक्रम

म्याग्दी सदरमुकाम बेनीमा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतवार सामाजिक विकास कार्यालयको सहयोग र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा सामाजिक विकास कार्यालयको सहयोगमा मिडिया सोसाइटिले तयार पारेको ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव समेटिएको बृत्तचित्र प्रदर्शन समेत गरिएको थियो । कार्यक्रमका सहभागीहरुले समाजको विकास र समृद्धिमा ज्येष्ठ नागरिका अनुभव र ज्ञान सीपहरु महत्वपूर्ण मागर्दशन बन्नेमा जोड दिएका छन ।

कार्यक्रमको उद्घाटन गर्दै ज्येष्ठ नागरिक एवम् मालिका गाउँपालिका–४ का वडा अध्यक्ष दिलिप शेरचनले ज्येष्ठ नागरिकहरुमा रहेको ज्ञान, सीप र अनुभवहरुलाई उपयोग गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षा, उपयुक्त हेरचाह तथा सेवामा राज्यले विशेष कार्यक्रम लागु गर्नुपर्ने बताउनुभयो । उहाँले बृद्ध अवस्थामा पुगेका आफ्ना अभिभावकको उचित स्याहार गर्ने सन्ततिको कर्तव्य भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन र प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले कार्यक्रमले समाजमा ज्येष्ठ नागरिकको महत्वलाई उजागर गरेको बताउनुभयो । सामाजिक संस्कार, संस्कृति, परम्परा, मौलिकता, अर्ति उपदेश लगाएत विभिन्न कला तथा सिप संग सम्वन्धित बिषयका खोज तथा अनुसन्धानको श्रोत जेष्ठ नागरिक भएकाले उहाँहरुको सम्मान र सेवामा सधैँ अग्रसर हुनुपर्ने उहाँहरुको भनाई थियो ।

कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा मगरले ज्येष्ठ नागरिकले आफ्नो जिवनको सक्रिय अवस्थामा हाँसिल गरेका ज्ञान, सीप र अनुभवलाई समाजको अमूल्य सम्पतिको रुपमा पुस्तान्तरण गर्न कार्यक्रम संचालन गरिएको बताउँदै युवा, विद्यार्थीहरुलाई यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा ज्येष्ठ नागरिक नैनकुमार श्रेष्ठ, ध्रुवलाल शर्मा, लक्ष्मी जोसी, अंगद श्रेष्ठ लगायतले जिवनको उतार चढाब र ज्ञान सीप बारे पहिलो पटक सार्वजनिक कार्यक्रममा अनुभव साट्न पाएकोमा धन्यबाद ज्ञापन गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी सञ्चारकर्मी पदम विश्वकर्मा, विद्यार्थीहरु विभा खाती, हिमाल आचार्य, ज्ञानेन्द्र मल्ल लगायतले हराउँदै गएका भाषा, संस्कृति, परम्परा र रहनसहनलाई ज्येष्ठ नागरिकका अनुभूतिका रुपमा वृत्तचित्रमा उतार्नु उल्लेखनीय काम भएको बताउँदै स्थानीय पाठ्यक्रमहरुमा समेत यस्ता बिषयबस्तुलाई समावेश गर्न सके नयाँ पुस्ताका लागि सिकाई हुन सक्न बताउनुभयो ।

सोसाईटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता र सचिब अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी लगायत विभिन्न संघ संस्था र कार्यालयका प्रमुख तथा प्रतिनिधि, विद्यार्थी र ज्येष्ठ नागरिक लगायतको समेत सहभागीता रहेको थियो ।

You can share this post!

लोक दोहोरी दिवसमा बाद्यवादन सामग्री हस्तान्तरण

म्याग्दीमा कांग्रेसको चुनावी अभियान सुरु

Related posts