एक लाख पचास हजार राशीको कलाकार कल्याणकारी कोष स्थापना

म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले रु एक लाख पचास हजार राशीको कलाकार कल्याणकारी कोष स्थापना गरेको छ ।
आइतवार लोक दोहोरी दिवसको अवसर पारि प्रतिष्ठान म्याग्दीका अध्यक्ष देवेन्द्र घिमिरेले सो कोष स्थापना गरिएको घोषणा गर्नुभएको हो ।

जिल्ला भित्रका सवै बिद्याका कलाकारहरुलाई आइपर्ने आपतकालिन अवस्थामा सहयोग गर्ने उद्देश्य अनुरुप कोषको स्थापना गरिएको अध्यक्ष घिमिरेले बताउनु भएको छ ।

कलाकार बिरामी पर्दा वा प्राकृतिक विपत्तिमा परेको समयमा कोषको ब्याजबाट निश्चित रकम सहयोग उपलव्ध गराईने छ । कल्याणकारी कोष संचालन समिति गठन गरि सोही समितिले नै कोष संचालन गर्नका लागि कार्यविधि तयार गर्ने अध्यक्ष घिमिरेले बताउनुभयो ।

प्रतिष्ठान म्याग्दीले गत वैशाख १ देखि ३ गतेसम्म सदरमुकाम वेनीमा कलाकार कल्याणकारी कोष स्थापना गर्ने मुख्य उद्देश्य राखेर विविध कार्यक्रमहरु सहित प्रथम लोक सांस्कृतिक उत्सव २०७८ आयोजना गर्न लागेको थियो ।

बिश्वमहामारीको रुपमा फैलिएको कोरोना भाईरसको दोस्रो भेरिएन्ट संक्रमण देखा परेपछि स्थानीय प्रशासनले भिडभाडजन्य गतिविधि संचालन नगर्न आदेशानुसार चैत २९ गते बिज्ञप्ती प्रकाशन गरि प्रतिष्ठानले कार्यक्रम स्थगित गरेको थियो ।

त्यसयता विभिन्न समयमा कार्यक्रम संचालनका लागि अनुमति माग गरेपनि नपाएपछि कार्यक्रमका लागि उठेको सहयोग रकमबाट कलाकार कल्याणकारी कोष स्थापना गरि कार्यक्रमलाई समापन गरिएको कार्यक्रम संयोजक अमित विश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रमका लागि देश विदेशमा रहेका सहयोग दाताहरुबाट एक लाख वयासी हजार रुपैयाँ संकलन भएकोमा बत्तिस हजार रुपैयाँ कार्यक्रम तयारीका लागि खर्च भएको र वाँकी एक लाख पचास हजार रुपैयाँको कल्याणकारी कोष स्थापना गरिएको कार्यक्रमका आर्थिक संयोजक समेत रहनुभएका प्रतिष्ठानका सहकोषाध्यक्ष रवि कार्कीले बताउनुभयो ।

कार्यक्रमका लागि सहयोगदाताले घोषणा गरेको करिव दुई लाख रुपैयाँ उठ्न बाँकी रहेको छ । कार्यक्रम नै स्थगित भएपछि उक्त रकम माग नगरिने तर स्वइच्छाले दिए कोषमा थप गरिने प्रतिष्ठानका कोषाध्यक्ष देवि जिसीले बताउनुभएको छ । विभिन्न अवसरहरुमा संघ, संस्था तथा व्यक्तिहरुलाई अनुरोध गरि कोषमा रकम थप गर्दै जाने प्रतिष्ठान म्याग्दीको योजना रहेको छ ।

You can share this post!

म्याग्दीमा कांग्रेसको चुनावी अभियान सुरु

नाचगान गरेर शिक्षकलाई तलब भत्ता

Related posts