म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्याम कुमार राईले आफ्नो कार्यकालमा सम्पादन भएका कार्यहरुको प्रगति बिबरण सार्वजनिक गर्नुभएको छ ।
शनिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार भेटघाट तथा कार्य समिक्षा कार्यक्रमको आयोजना गरि राईले आफ्नो कार्यकालका महत्वपूर्ण उपलब्धीहरुको बिषयमा जानकारी गराउनुभएको हो ।
२०७७ साल माघ १ गतेदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यालय प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्नु भएका राईको प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएको छ । सरुवा भएर जाँदै गर्दा प्रनाउ राईले १४ महिनाको अवधिमा भएका गतिविधिहरुको बारेमा समिक्षा गर्नुभएको हो ।
कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त भएपछि आफ्नो कार्यनीति, योजना, लक्ष, र प्राथमिकताका क्षेत्रहरु निर्धारण गरि सोही अनुरुप कार्य सम्पादन गरिएको राईले बताउनुभयो । २०७७ माघ १ गतेदेखि हाल सम्म अपराध अनुसन्धान तर्फ १३७ वटा मुद्दा दर्ता भएका छन जसमध्य ६० वटा फछर्यौट भएका र ७७ वटा बाँकी रहेका छन ।
त्यस्तै लागुऔषध ओसारपोसार, कर्तव्य ज्यान, जबरजस्ती करणी लगायतका बिभिन्न अपराधका घटनामा संलग्न ११२ जनालाई पक्राउ गरिएको छ भने १२ जना अझै फरार रहेका छन । यस अवधिमा उल्लेख्य रुपमा भौतिक संरचना सुधार तथा निर्माण भएका छन ।
रघुगंगा गाउँपालिका ७ चिम्खोलामा अस्थायी प्रहरी पोष्टको भवन निर्माण भएको छ । कार्यालय परिसर भित्र थुनुवा भेटघाट कक्षको निर्माण, प्रहरी हवल्दार तथा जवान ब्यारेकमा बहुउद्देश्यीय भवन निर्माण गरिएको छ ।
सामुदायिक चोकमा ट्राफिक प्रहरी पोष्ट स्थापना, जिपपार्कमा प्रहरी चेकिङ बिट स्थापना, हिरासत कक्षभित्र पुस्तकालयको ब्यवस्था, कार्यालयभित्र दलित डेस्क स्थापना, जिर्ण भएका १६ वटा सिसिटिभीको मर्मत लगायतका भौतिक प्रगति गरिएको प्रनाउ राईले बताउनुभयो ।
उहाँले आगलागि नियन्त्रण, बाढि पहिरोमा फसेकाहरुलाई तत्काल उद्धार,कोभिड रोकथामका लागि मास्क बितरण, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर मेसिन, पोर्टेवल भेन्टिलेटर हस्तान्तरण जस्ता गतिविधिहरु संचालन गरि बिपदका समयमा उत्कृष्ट कार्य सम्पादन भएको उल्लेख गर्नुभयो ।
जिल्ला कारगारमा खानेपानी सहज आपुर्तिको व्यवस्था गरिएको छ । प्रहरी कार्यालयमा बिपद व्यवस्थापनका तालिम तथा कारगारमा विभिन्न सचेतनाका कार्यक्रमहरु संचालन भएका छन । प्रहरीभित्र सफल संचार सेवाको बिकास गरिएको छ । ट्राफिक व्यस्थापनलाई बिशेष प्राथिमिकतामा राखेर कार्य योजनाहरु बनाईएका छन ।
यो अवधिमा उत्कृष्ट कार्य गर्ने ५६ जना प्रहरी कर्मचारीहरुलाई थप हौसलाका लागि पुरस्कृत गरिएको छ भने १४ जना प्रहरीलाई कार्य सम्पादन सन्तोषजनक नभएको भनि प्रहरी नियमावलि अनुसार कार्बाही गरिएको प्रनाउ राईले जानकारी दिनुभयो ।
सरुवा भएर जाँदै गर्नुभएका प्रनाउ राईले सामुदायिक प्रहरीलाई ब्यबस्थित बनाउन, कालीपुलमा चेकपोष्ट ब्यबस्थित बनाउन, बाल निगरानी कक्ष तथा सुधारगृह निर्माण गर्न र महिला प्रहरी ब्यारेक निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले घोडेपानी लगायतका प्रहरी कार्यालयहरुलाई आफ्नै भवन सहित व्यवस्थित बनाउनुपर्ने, बिकास निर्माणको क्षत्रमा प्रहरी सक्रियता, सुरक्षा र निगरानी बढाउनुपर्ने लगायतका कार्यहरु निकट भबिस्यमा सुधार गर्दै लैजान आवश्यक देखिएको धारणा ब्यक्त गर्नुभएको थियो ।
जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मिहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन प्रहरी सहायक निरिक्षक बिरेन्द्रराज गुरुङले गर्नुभएको थियो ।