प्रमुख पदमा चुनाव लड्न महिलाहरु सक्षम छौँः अनेमसंघ म्याग्दी

नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीले आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाले चुनाव लड्न पाउनुुपर्ने माग गरेको छ ।

आइतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी अनेमसंघ म्याग्दीका नवनिर्वाचित अध्यक्ष यशोदा रोकाले जिल्ला सम्मेलनबाट समसामयिक विषयवस्तुहरुलाई समेटेर आठवटा बुँदाहरु  पारित गरिएको प्रस्तावबारे जानकारी गराउँदै आगामी वैशाख ३० गते हुन गैरहेको आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत प्रमुख पदमा महिलाहरुले प्रतिस्पर्धा गर्न पाउनुपर्ने र यसका लागि महिलाहरु सक्षम रहेको बताउनुभयो ।

उहाँले जनसङ्ख्याको हिसाबले धेरै महिलाहरुको सङ्ख्या रहेको भए पनि अझै महिलालाई हेर्ने दृष्टिकोण तथा सानो पदमा चुनाव लडाउने परिपाटी रहेको हँुँदा यसलाई अन्त्य गर्नुपर्ने बताउनुभयो । सम्मेलनबाट पारित गरिएका समसामयिक प्रस्तावहरुमाथि स्पष्ट पार्दै अनेमसंघका जिल्ला अध्यक्ष रोकाले संविधानले गरेको व्यवस्थाअनुसार त्यसलाई पूर्ण रुपमा सबै तह र तप्काबाट कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी संविधानमा भएको व्यवस्था बमोजिम समान कामको समान ज्याला, अंशमा छोराछोरीलाई समान हक, आमाको नामबाट नागरिकताको प्रमाणपत्र पाउनुपर्ने अधिकार, सबै क्षेत्रमा महिलाको सम्मानजनक सहभागिताको सम्बन्धमा व्यवहारमा देखिएका कठिनाइप्रति गहिरो दुःख व्यक्त गर्दै आवश्यक कानुनी त्रुटिहरु सच्याएर अबिलम्ब संविधानको पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि नेपाल सरकारसमक्ष जोडदार रुपमा माग गरिएको छ ।

त्यस्तै श्रृङ्खलाबद्ध रुपमा मुलुकभर घटिरहेका यौन तथा घरेलु हिंसामा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारवाही गर्न नेपाल सरकारप्रति जोडदार माग गर्दै बालिका, किशोरी तथा आम महिलाहरुको सुरक्षाको प्रत्याभूति गराउन आग्रह गरिएको अनेमसंघ म्याग्दीका नवनिर्वाचित सचिव विष्णु गुरुङले बताउनुभयो ।

उहाँले पछिल्लो समय प्रायजसो महिला तथा बालिकामाथि हुने यौनजन्य हिंसाका पीडकहरुलाई कानुनअनुसार कडा कारवाही गर्नुपर्ने भन्दै महिला हक अधिकारको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

You can share this post!

धवलागिरीको बिशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन

व्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखिकरण

Related posts