म्याग्दी । सामाजिक बिकास कार्यालय म्याग्दीद्वारा आयोजित गण्डकी समाज सभ्य समाज बिषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सुशासन, संस्कृति र नैतिकता सभ्य समाज निर्माणको आधार भएको बताएका छन ।
रघुगंगा गाउँपालिका भित्रका सामुदायिक बिद्यालयका शिक्षकहरुलाई लक्षित गरि संचालन गरिएको कार्यक्रममा सहजीकरण गर्दै प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले सभ्य समाज निर्माणका लागि विकसित शासन व्यवस्था र सुव्यवस्थित संस्कृति हुनुपर्ने बताउनुभयो ।
उहाँले शासन व्यवस्थामा नागरिकलाई सुसूचित गर्ने, सक्रिय सहभागी गराई प्रतिक्रिया लिने र सहमतिमा आधारित रहेर निर्णय गर्ने प्रक्रियालाई अवलम्वन गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।
उहाँले समाजमा ब्यक्तिले आत्मनिर्भर भन्दा अन्तरनिर्भतालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । रानाले राज्यले युुवा पुस्तालाई सचेतना, बेरोजगारलाई रोजगारको व्यवस्था, शिक्षा र स्वास्थ्यमा सुनिस्चितता, सत्य तथ्यमा आधारित कार्यक्रम निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।
समाजमा भएका सवै प्रकारका बिकृति, बिसङगति र बिभेदको अन्त्य जहिले हुन्छ तव मात्र समाज सभ्य भएको मान्न सकिने प्रजिअ रानाको भनाई थियो । त्यसका लागि समाजका बिभिन्न क्षेत्रमा रहेका व्यक्तिहरु नै उत्तरदायि बन्न आवश्यक हुन्छ, उहाँले भन्नुभयो ।
गैरसरकारी संस्था महासंघ म्याग्दीका पूर्व अध्यक्ष हरिप्रसाद पौडेलले सभ्य समाज निर्माणका लागि सामुदायिक संस्थाहरुको भूमिका र महत्वको बारेमा सहजीकरण गर्नुभएको थियो । उहाँले सभ्य समाज निर्माणका लागि सामाजिक नियम, मूल्य र मान्यतालाई अनुसरण गर्नुपर्ने, रीतिरीवाज र परम्पराको सकरात्मक पाटोलाई पालना गर्नुपर्ने, नैतिक शिक्षाले निर्देशित हुनुपर्ने लगायतका बिषयमा बोल्नु भएको थियो ।
सभ्य समाज निर्माणका लागि बिभिन्न सामाजिक संघसंस्थाले सहयोगी भूमिका निर्वाह गरिरहेको भन्दै उहाँले शिक्षा, स्वास्थ्य, आयआर्जन, मानवअधिकार, संस्कृति संरक्षण, पैरवी तथा सहकार्यमा सामाजिक संस्थाहरु सक्रियताका साथ लागिरहेको बताउनुभएको थियो ।
शिक्षा बिकास तथा समन्वय तथा ईकाई म्याग्दीका प्रमुख दल बहादुर थापाले कुनैपनि ज्ञान तथा सन्देश शिक्षकबाट बिद्यार्थीमा बिद्यार्थीबाट घरमा र घरबाट समाजमा पुग्ने भएकाले समाज बिकासको आधार बिद्यालय भएको उहाँको धारणा थियो ।
बिद्यार्थीहरुलाई नैतिक तथा व्यवहारिक ज्ञान सिकाउन आवश्यक रहेको उहाँको भनाई थियो । उहाँले शिक्षकलाई मैनबत्ती संग तुलना गर्दै बलिरहेको मैनबत्तिले अरुलाई बाल्न सहयोग गरेको जस्तै बिद्यार्थीलाई नयाँ कुरा सिकाउनका लागि शिक्षक अध्ययनशिल हुनुपर्ने बताउनुभयो ।
थापाले जिल्लाको ऐतिहाँसिक, भौगोलिक र शैक्षिक अबस्थाको बारेमा सहजीकरण गर्नुभएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्याधिवक्ता धर्मराज पौडेलले समुदायमा सरकारी वकिलको भूमिका, सरकार वादी मुद्दामा आम नागरिकको जिम्मेवारी र बिभिन्न कानूनी प्रावधानको बिषयमा सहजीकरण गर्नुभएको थियो ।
सामाजिक बिकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख रमेश थापाले सामाजिक एकता र सद्भावलाई कायम गरि समाजमा रहेका हेरक नागरिकहरुको सम्मान, संरक्षण, क्षमता अभिवृद्धि, शैक्षिक ज्ञानको बिकास, कला संस्कृति, परम्परा, सामाजिक मूल्य र मान्यतालाई पालना गर्दै सभ्य समाज निर्माण गर्ने उद्देश्यले गण्डकी समाज सभ्य समाज कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।