म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका ३ दर गाउँका बिर बहादुर किसानले खच्चड व्यवसाय संचालन गरको १५ बर्ष बढि भएको छ ।
पहाडि भेगमा सामान ढुवानीका लागि भरपर्दो माध्यम खच्चड संगै पानी झरी, उकाली ओराली गर्दै १५ बर्ष बिताएका बिकको दैनिकी हिजोआज पनि उस्तै काममा बित्ने गरको छ । बिक संग पोहोर साल सम्म २२ वटा खच्चड थिए ।
ति सवै गत पौषमा मरेर सकिएपछि हाल ३ वटा घोडामा सामान ढुवानी गर्दै आउनुभएको छ । आफुसंग धेरै समय अगाडिदेखि रहदै आएको खच्चडमा रोग देखा परि सवै मरेर सकिएपछि बाग्लुङको ढोरपाटनबाट प्रति घोडा ३५ हजारका दरले खरिद गरि ल्याउनुभएको बिकले बताउनुभयो ।
उमेरले ६० बर्ष पुग्नुभएका बिक अझैपनि निकै स्वस्थ र तन्दुरुष्ट हुनुहुन्छ । बि.स. २०६४,०६५ तिर बिक संग करिव ३० वटाको हाराहारीमा खच्चड थिए, ति सवै खच्चडमा भारी बोकाएर पश्चिम म्याग्दीको दरवाङ बजारदेखि मुदी, लुलाङ, गुर्जा, देविस्थान, रुम, निस्कोट, ओखरबोट बाग्लुङको लाम्मेला, तमान सम्म पुगको उहाँले स्मरण गर्नुभयो ।
‘त्यतिवेला गाउँमा सडक पुगेको थिएन, जताततै सामान ओसारपोसार गर्ने माध्यम खच्चड थियो, तर अचेल यो सवैतिर सडक पुगे, हाम्रो खच्चड व्यवसाय पनि लोप हुँदै गयो’ बिकले भन्नुभयो ।
सुरुमा साहुको खच्चडमा काम गरेका बिकले काम गर्दा गर्दै आफै खच्चड किन्नुभयो । त्यही खच्चडले सामान बोकेबापत प्राप्त हुने ढुवानीले घरखर्च निकै राम्रो संग संचालन गरेका बिकले अर्को पेशा गर्ने सोंच कहिलै बनाउनु भएन कारण थियो उहाँलाई खच्चडबाटै भएको आम्दानीले परिवारको पालनपोषण गर्न प्रयाप्त पुगेको थियो ।
हाल बिकको एक छोरा बैदेशिक रोजगारमा हुनुहुन्छ भने अन्य परिवार गाउँमै रहुनुभएको छ । बिदेशमा रहनुभएका छोराले काम नगरि बस्न आग्रह गरेपनि बिकलाई भने खच्चड संग अघिपछि नगरुन्जेल मनले सुकै दिदैन ।
अचेल पहिला जस्तो काम हुँदैन, त्यतीधेरै भारी उचालबासल गर्नपनि पदैन, तर काम आए जतिपनि गर्न सक्छु, बिकले भन्नुभयो, “खच्चडसंगै प्रत्यकदिन बिताउनु मन लाग्छ सायद जिन्दगीको १५ बर्ष दुख सुखको यात्रा संगै हिँडेको भएर पनि होला” । अचेल दरखोलादेखि दरगाउँसम्म मात्रै निर्माण सामग्री तथा पसलका सामानहरु ढुवानीको काम गर्ने गरेको बिकले बताउनुभयो ।
बाहिरको काम नहुँदा आफ्नै घरमा खेतबारीमा मल बोक्न, बनबाट दाउँरा ल्याउन पनि खच्चडको प्रयोग गर्ने गरेको बिकको भनाई छ । करिव डेढदशकको समयमा गाउँठाउँमा धेरै परिवर्तन आएको बिकलाई अनुभूति भएको छ ।
गाउँगाउँमा सडक सुविधा पुगेका छन, बिजुली पानीको व्यवस्था भएको छ । बिद्यालयहरु र स्वास्थ्य संस्थाहरु स्थापना भएका छन । तर बिकको मनामा एउटै चिन्ता छ अझै पनि युवाहरु गाउँमै बस्न सक्ने अवस्था छैन । रोजगारको अवसर सृजना भए विदेश भएको छोरालाई घरमा बोलाउने उहाँको चाहना छ ।
दरखोला स्थित सूर्यज्योति आधारभूत बिद्यालय देखि दर गाउँसम्म अझै सम्म पनि दैनिक उपभोग्य सामानदेखि निर्माणका सामग्रीहरु खच्चडमानै ढुवानी हुने गरेको छ । दरगाउँमा सडक सुविधा नहुँदा निर्माणका सामग्री ढुवानीमा गर्दा लागत बढेको छ ।
धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले दरगाउँलाई सडक संजाल संग जोड्नका लागि गत आर्थिक बर्षमा पालिकाबाट रु आठ लाख बिनियोजन गरिएको बताउनुभयो । तर गाउँबासीको बिबादका कारण बाटो खन्न नसक्दा उक्त बजेटले बिद्यालयबाट गाउँसम्म पदमार्ग निर्माण गरिएको अध्यक्ष पुनले बताउनुभयो । सडक निर्माणका लागि चालु आवमा पनि रु ६ लाख बजेट बिनियोजन गरिएको र स्थानीयहरुलाई सहमत गराई सडक खन्ने पहल भईरहेको पुनको भनाई छ ।