म्याग्दी । बेनीमा रहेको बेनी बचत तथा क्रृण सहकारी संस्थाले नयाँ शेयर सदस्यहरुलाई स्वागत गरेको छ । ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि नयाँ शेयर सदस्यहरुलाई खादा र अविर लगाएर स्वागत गर्दै दिवस मनाएको हो । सो कार्यक्रमको उद्घाटन नयाँ शेयर सदस्य मध्यका जेष्ठ सदस्य ईश्वर रावलले गर्नुभएको थियो ।
२०५८ सालमा स्थापना भएको सहकारीमा ४७ जना संस्थापक शेयर सदस्य रहेका थिए । संस्था स्थापनाको २० बर्षको अबधिमा हाल कुल १७८३ जना शेयर सदस्य रहेका छन ।
पछिल्लो तीन महिना अघि सम्म संस्थामा ९८१ जना शेयर सदस्य रहेकोमा संस्थाले नयाँ शेयर आब्हान गरेसंगै यो तीन महिनाको अवधिमा शेयर सदस्यको संख्या बढेर १७८३ जना पुगेको संस्थाका प्रवन्धक सज्जन शाक्यले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष सञ्जय श्रेष्ठले नयाँ शेयर सदस्यहरुलाई संस्थाको आर्थिक, भौतिक प्रगति, संस्थाले गरेका सामाजिक गतिविध, नीति नियम तथा समग्र बस्तुस्थितीका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले समुदायमा आधारित, सदस्य केन्द्रित सहकारीको मूल्य, मान्यता र सिद्धान्तमा रहेर काम गर्ने बेनी बचत जिल्लाकै नमूना सहकारी भएको बताउनुभयो ।
कार्यक्रममा संस्थाको हाल सम्मको आर्थिक प्रगति प्रस्तुत गर्दै कोषाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले संस्थाको फागुन मसान्त सम्मको कुल शेयर पूँजी ३ करोड ३८ लाख ६५ हजार रुपैयाँ रहेको जानकारी दिनुभयो ।
संस्थामा शेयर पूँजी, बिभिन्न कोषहरु र अन्य बैंक तथा संस्थाहरुमा भएको शेयर गरि कुलन ८ करोड १८ लाख रुपैयाँ नगद मौज्दात रहेको र ३ करोड ४० लाख अचल सम्पति रहेको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । ३९ करोड २ लाख रुपैयाँ लगानी गरेको संस्थाले ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
हाल संस्थामा १२ करोड ३० लाख तरलता रहेको पनि कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष शिव कुमार श्रेष्ठ, बिभिन्न उप समितिका संयोजक, संस्थापक प्रवन्धक दिपु श्रेष्ठ, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु तथा नयाँ शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष रमेश गिरीको अध्यक्षता, उपाध्यक्ष श्रेष्ठको स्वागत र सचिव माधव प्रसाद रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।
स्थापनाकाल देखि नै संस्थाले मनग्य आम्दानी गरिरहेकोले बर्षेनी शेयरसदस्यहरुलाई मुनाफा बितरण गरिरहेको छ । बिश्वासिलो, भरपर्दो र लगानि सुरक्षित हुने सहकारी भएकाले पनि शेयर सदस्यको संख्यामा उल्लेख्य बृद्धि भएको संस्थाले जनाएको छ ।