नेकपा एमाले निकट कलाकारहरुको संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको आठौँ राष्ट्रिय अधिवेशनबाट गीतकार प्रेमनाथ अधिकारीको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन भएको छ।
महासंघको निवर्तमान महासचिव अधिकारीले अध्यक्षको जिम्मेवारी सम्हाल्दै सामूहिक भावना र शक्तिका आधारमा सङ्गठननलाई गतिशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आइतबार राति सम्पन्न अधिवेशनले उपाध्यक्षमा भूमिका सुब्बा र आरसी न्यौपाने, महासचिवमा लालकाजी लामा, उपमहासचिवमा अशोककुमार राई, मन कुमार श्रेष्ठ, सचिवमा राममणि ढुङ्गेल, नारायणभाइ श्रेष्ठ, वृन्दा मैनाली, कृष्णगोपाल तामाङ, विजय यादव र कोषाध्यक्षमा सिन्धु जलेसा बुढाथोकीलाई निर्वाचित गरेको हो ।
एमालेको जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालको उपस्थितिमा सुरु भएको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष खगेन्द्र राईले सहमतिका आधारमा उक्त नामावली घोषणा गर्नुभएको हो ।
बन्दसत्रबाट साङ्गठनिक र आर्थिक प्रतिवेदन तथा घोषणापत्र मस्यौदा समितिका तर्फबाट यशोदा अधिकारीद्वारा प्रस्तुत गरिएको ११ बुँदे समसामयिक प्रस्ताव पारित भएको थियो।
यही चैत १८ गते एमालेका अध्यक्ष केपी ओलीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । शनिबार महासंघ मातहतका विभिन्न सात विधागत घटकको अधिवेशन सम्पन्न भएको थियो।