म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि नेकपा एमालेले बेनपा ६ मा सम्पर्क कार्यालय स्थापना गरेको छ । अथुङ्गे देउरालीमा स्थापना गरिएको कार्यालयको आइतवार नेकपा एमाले केन्द्रिय सदस्य एवम म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्र थापाले उद्घाटन गर्नुभएको हो ।
चुनावी प्रचार प्रसार, भेटघाट तथा छलफल गर्ने उद्देश्य अनुरुप सम्पर्क कार्यालय स्थापना गरिएको हो । कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै थापाले जिल्लामा ५ दलीय गठबन्धनको बिरुद्धमा एमालेले एक्लै चुनावी मैदानमा उत्रिने सामथ्र्य राखेको बताउनुभयो ।
जनता देशैभर एमाले पार्टीको पक्षमा रहेको भन्दै थापाले गठबन्धनबाट त्रसित नभई चुनावी मैदानमा उत्रिन आग्रह गर्नुभयो । बेनपा ६ मा एमालेको संगठन सवल रहेकाले पनि जित सुनिस्चित रहेको थापाको भनाई थियो ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठले प्रतिपक्षलाई कमजोर नठानी निरन्तर चुनावी गतिविधि लिएर जनताको घरदैलोमा पुगि बेनपा ६ मा फेरिपनि एमालेकै उम्मेदवारलाई जिताउन सवैपक्षलाई आग्रह गर्नुभयो । बिषेशगरि युवा र महिलालाई अग्रस्थानमा रहेर चुनावी प्रचारमा जुट्न पनि उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठ, सन्तोष रावल, जिल्ला कमिटी सचिव सुरज केसी, सदस्य पशुपति शाही, नारायण शर्मा, वडा अध्यक्ष कृष्णसिंह बानियाँ, बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी लगायतले चुनावको अवधिमा बेनपा ६ का सम्पूर्ण नेता तथा कार्यकर्ताहरु एक भएर अभियानमा लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा संघका जिल्ला संयोजक शिशिर शाही लगायत बिभिन्न जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरु सहभागी भएका थिए । नेकपा एमाले बेनपा ६ बाट सर्वसहमतिमा चयन हुनुभएका उम्मेदवारहरु अध्यक्ष कृष्णसिंह बानियाँ सहित सदस्यहरु कृष्णदत्त पौडेल, इश्वर पौडेल, राधिका बिश्वकर्मा र शारदा राना मगरको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यालय स्थापना भएपछि अव उम्मेदवारहरु सहित चुनावी प्रचारको अभियान लिएर टोल टोलमा पुग्ने योजना तय गरिएको नेकपा एमाले वडा कमिटी अध्यक्ष गणेश बहादुर बानियाँले बताउनुभयो । कार्यक्रम वडा कमिटी उपाध्यक्ष दिपक हमालको अध्यक्षता, नगर कमिटी उपसचिव लक्ष्मण कटुवालको संचालन र वडा अध्यक्ष कृष्णसिंह बानियाँको स्वागतमा सम्पन्न भएको थियो ।