मेयरका उम्मेदवार शर्माको प्रतिवद्धतापत्र सार्वजनिक

म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट बेनी नगरपालिकाको मेयरको उम्मेदवार बन्नुभएका चिरञ्जिवी शर्माले प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

आइतवार बेनीको संगमचोक स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा पत्रकार भेटघाट गरेर “बेनी नगरलाई बेनी जस्तै बनाऔ, ऐतिहाँसिक धरोहरलाई जागृत तुल्याऔ” भन्ने नारा सहितको ६ वटा क्षेत्र सँग सम्बन्धित विषयलाई समेटेर प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।

प्रतिवद्धतापत्रमा पूर्वाधार तथा वातावरण र युवा स्वरोजगार, सुशासन, क्षमता अभिबृद्धि र सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, खेलकुद र सामाजिक विकास, आर्थिक उपार्जन र आयआर्जन, संस्कृति तथा पर्यटन र विविध गरेर ६ वटा क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको छ ।

प्रतिवद्धता पत्रमा दश वटै वडाको सन्तुलित र समानुपातिक विकासको अवधारणालाई आत्मसात गर्दै २० वर्षे रणनीतिक योजना बनाएर पाँच वर्ष भित्रमा वडाको केन्द्र जोड्ने सवै सडक कालोपत्र गर्ने घोषणा गरिएको छ ।

अर्थुङ्गे–मल्लाज, अर्थुङ्गे–ज्यामरुककोट, पुलाचौर भकिम्ली जोड्ने लामा पुलको सम्भाव्यता अध्ययन गर्ने, नदी तथा पहिरो नियन्त्रण, युवालाई स्वरोजगार बनाउने, कृषि र पशुपालनको पकेट क्षेत्र बनाएर हरेक उत्पादनमा मेयर कार्यक्रम लागु गर्ने, तथा स्थानीय उत्पादनलाई व्यवस्थित गर्नका लागि कोल्ड स्टोर निर्माण गर्ने शर्माको प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।

मेयरसँग दलीत कार्यक्रम मार्फत पाँच वर्षभित्र छुवाछुतमुक्त नगरपालिका घोषणा गर्ने, सुत्केरीलाई पोषण सामग्री सहितको कोशेली दिने, एकल महिलालाई जस्तै एकल पुरुषलाई पनि अवस्था हेरेर भत्ता दिने, बेनी बजार नजिकैको बजारउन्मुख बस्तिलाई कलरफुल सिटीको रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

१२ कक्षा उतिर्ण विद्यार्थीलाई कोटा निर्धारण गरेर उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने, टुरिजम, होटल म्यानेजमेन्ट जस्ता प्राविधिक विषयको अध्ययन शुरु गराउने, अतिक्रमणमा परेका सम्पति फिर्ता गरेर सार्वजनिक उपभोगमा ल्याउने, विदेशमा प्रवाशी म्याग्देलीलाई सदभावना दुत नियुक्त गर्ने, विभिन्न संघ संस्था र पालिकासँग सुमधुर सम्बन्ध स्थापित गर्ने योजना अघि सार्नुभएको छ ।

नगरभित्र रहेका धार्मिक तथा पुरातात्विक महत्वका मठमन्दिर, चौतारी, पोखरी, वरपिपल आदीको संरक्षण, गलेश्वर–टोड्के पदमार्ग र तातोपानी– टोड्के स्वर्गाश्रम केवलकारको सम्भाव्यता अध्ययन, युद्ध सङ्ग्रहालय स्थापना, गलेश्वरधाम तथा सिंगा तातोपानी कुण्डलाई विशेष प्राथमिकतामा राखेर संरक्षण, विकास र प्रर्वद्धन गर्ने उम्मेदवार शर्माको योजना छ ।

औद्योगिक ग्राम स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने, कोरला नाका खुलाउन पहल गर्ने, विपद् राहत कोष बनाउने, डम्पीङ साइटको ब्यवस्था र योग तथा ध्यान केन्द्र स्थापना, गाइभैसीको सुत्केरी भत्ता दिने, जेष्ठ नागरिक, युवा, अपाङ्ग, बालबालिका र बिद्यार्थी संग मेयर कार्यक्रम लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

साथै शर्माले सेवाग्राहीलाई कानूनी र प्रक्रियागत झन्झटबाट मुक्त गराउन मयेरको कार्यकक्षमा पनि जनता संग प्रत्यक्ष सम्वन्ध स्थापित गर्ने वातावरणको सृजना गर्ने योजना बनाएको बताउनुभयो । प्रतिवद्धता पत्रमा उल्लेख नभएका बिषयहरुलाई पनि जनताको माग, तत्कालिन अवस्था, समय र सम्भाव्यताको आधारमा समेटिने मेयरका उम्मेदवार शर्माले बताउनुभयो ।

नेपाली काँग्रेसका बेनी नगरसभापति रविन्द्र कार्कीले आफ्ना उम्मेदवार जिताउन पार्टीका सवै संयन्त्र परिचालका साथै प्रतिवद्धता कार्यान्वयमा दवाव दिने बताउनुभयो । बेनी नगर उपभासपति हरिप्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजा, पुर्व सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानिया, जिल्ला उपसभापति केवी भण्डारी, पुर्व सहसभापति नेत्रबहादुर महत लगायतको उपस्थिति रहेको थियो ।

You can share this post!

मंगलाको अध्यक्षमा माओवादीबाट टेकबहादुर बिश्वकर्मा उम्मेदवार

म्याग्दीको मराङ बुलबाट एक सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

Related posts