म्याग्दी । नेकपा एमालेका गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले जनताको विश्वासको पात्र नेकपा एमाले भएको बताउनुभएको छ ।
बुधबार बिहान नेकपा एमाले बेनपा –७ वडा कमिटीले इन्द्रणीटोलमा स्थापना गरेको निर्वाचन परिचालन कमिटी सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता श्रेष्ठले विकास र समृद्धिका लागि जनताले आशा र भरोसा गरेको पार्टी नेकपा एमाले भएको दावी गर्नुभयो ।
आसन्न स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिका सहित जिल्लाका सवै पालिकाहरुमा एमालेका उम्मेदवारहरुको जित सुनिस्चित रहेको भन्दै श्रेष्ठले यो समयमा जनतासंग सुमधुर सम्वन्ध स्थापनाका लागि घरघरमा पुग्न उम्मेदवार तथा प्रचार प्रसार समितिलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा प्रदेश कमिटीका सदस्य प्रमोद श्रेष्ठले बेनी नगरको मुहार फेर्न एमालेको जित आवश्यक रहको बताउनुभयो । उहाँले नगरका गरिव, दलित, जनजाति, विपन्न, अशक्त, महिला तथा असहायहरुका जीवन स्तर माथि उकासी समृद्ध नगर निर्माणका लागि एमालेलाई जिताउन सवै नगरवासीहरुमा आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा बेनी नगर कमिटीका अध्यक्ष नारायण जिसी, बेनी नगरका मेयरका उम्मेदवार सुरत केसी, उपमेयरका उम्मेदवार पशुपति शाही, वडा नम्वर ७ का अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार श्रेष्ठ, सदस्यका उम्मेदवारहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेकपा एमाले बेनपा ७ का वडा कमिटी अध्यक्ष रमेश फगामीको अध्यक्षता र बेनी नगर कमिटीका उपसचिव एवम् वडा सदस्यका उम्मेदवार लक्ष्मण कटुवालको संचालनमा सम्पन्न भएको थियो ।