म्याग्दी । यहि वैशाख ३० गते सम्पन्न हुन गैरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गरेसँगै मेयरका उम्मेदवार सुरत केसी सहित बेनीमा नेकपा एमालेका उम्मेदवारको घरदैलो अभियान सुरु भएको छ ।
बुधवार म्याग्दी सदरमुकाम बेनीबजारमा बेनी नगरपालिकाको प्रमुख, उपप्रमुख तथा बेनपा–७ र ८ नम्बर वडाको विभिन्न पदमा एमालेबाट उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुले घरदैलो अभियान गरेका छन् । उनीहरुले घरदैलो अभियान मार्फत मतदातालाई प्रत्यक्ष रुपमा भेटघाट गरेर आफू र नेकपा एमालेको टिमलाई जिताउनका लागि भोट दिन अपिल गरेका हुन् ।
नगर प्रमुख पदका उम्मेदवार केसी, उपप्रमुख पदका उम्मेदवार पशुपति शाही, बेनपा–७ का वडाध्यक्षका उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ, ८ नम्बर वडाका वडाध्यक्ष पदका उम्मेदवार उत्तमकुमार कर्माचार्य, सदस्यहरु पुष्पा थापा, लक्ष्मण कटुवाल, रमेश फगामी, गौरी किसान, यामबहादुर बानियाँ, भुलमाया तिलिजा, नरु थजाली र जानकी विश्वकर्माको टोलीले घरदैलो गरी भोट मागेको हो ।
उक्त टोलीले आसन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई अत्यधिक मत दिएर विजयी बनाउन समेत आग्रह गरेको जनाएको छ । घरदैलो अभियानअन्तर्गत बुधवार बेनीको हुलाकचोक, न्युरोड, क्याम्पसचोक, गणेशटोल, बैंकरोड, बालमन्दिरचोक, वीरेन्द्रचोक हुँदै मङ्गलाघाट क्षेत्रमा पुगेर भोट माग्नुका साथै प्रचारप्रसार गरिएको नेकपा एमाले बेनी नगरपालिका–८, नम्बर वडा कमिटी अध्यक्ष ठाकुरप्रसाद शर्माले बताउनुभयो ।
घरदैलो अभियानका क्रममा मतदातासमक्ष आफू र पार्टीलाई भोट माग्दै बेनी नगरपालिकाको प्रमुख पदका उम्मेदवार सुरत केसीले बेनी नगरपालिकालाई समृद्ध बनाउन र समाजमा रहेको जातीय, वर्गीय विभेदको अन्त्यसँगै शिक्षा र चेतनाको विकास गर्नका लागि आफू चुनाबी मैदानमा होमिएको बताउनुभयो ।
दिनभर बेनी बजारका प्रत्यक घरघरमा पुगेर मतदाताहरु समक्ष भोटको अपिल गर्नुभएका केसीलाई बजारबासीले शुभेच्छा प्रकट गरेका छन । केसीले समृद्ध नगरको सपना साकार पार्नका लागि अमूल्य मत दिन सवै समक्ष अनुरोध गर्नुभएको छ ।
घरदैलो अभियान कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठ, बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी, उपाध्यक्ष लिलाराम गौतमलगायत नेता तथा कार्यकर्ता सहभागी भएर बेनी नगरपालिकामा सुरत केसी नेतृत्वको एमालेको टिमलाई विजयी बनाउन मतदातालाई अपिल गर्नुभएको छ ।
नेकपा एमाले म्याग्दीको तर्फदेखि पार्टी जिल्ला सचिव सुरत केसीलाई नगर प्रमुख र सचिवालय सदस्य पशुपति शाहीलाई उपप्रमुखको उम्मेदवार बनाइएको छ ।
नगरकमिटीले १० वटै वडामा प्रचार प्रसार तथा मतदाता भेटघाट कार्यक्रमको समय तालिका तयार गरेको छ । बिहिबार बेनी नगरपालिका १ को सारेमारे देखि मतदाता भेटघाटका लागि घरदैलो अभियान तय गरिएको निर्वाचन परिचालन कमिटीको संयोजक समेत रहनुभएका बेनी नगर कमिटी अध्यक्ष नारायण जिसीले बताउनुभयो ।