रघुगंगामा अध्यक्षका उम्मेदवार भण्डारी बिरुद्ध परेको उजुरी खारेज

म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस बाट रघुगंगा गाउँपालिकाको अध्यक्षको उम्मेदवार भव बहादुर भण्डारी बिरुद्ध परेको उजुरी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ ।

निर्वाचन तालिका अनुसार मंगलबार उम्मेदवार विरुद्ध दावि विरोध गर्ने समयमा नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार प्रेम बहादुर कार्की र स्वतन्त्रबाट अध्यक्षका उम्मेदवार सागर भण्डारीले बैशाख १३ गते उहाँ विरुद्ध उजुरी दर्ता गराउनुभएको थियो ।

गाउँपालिकाको लागि व्यवस्थापन गरिएको जग्गा आफ्नो नाममा दर्ता गरेको र सो जग्गामा सरकारी लगानी गरेको भन्ने आरोप सहित उम्मेदवारी खारेजीको माग गर्दै उहाँहरुले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गर्नुभएको थियो ।
पेश गरेको उजुरी उपर दावि नपुग्ने देखिएकाले स्थानीय निर्वाचन ऐन २०७३ को दफा २० बमोजिम भण्डारीको मनोनयन कायम रहने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गाउँपालिकाको भवन तथा संरचना निर्माणका लागि वडा नम्वर ३ मौवाफाँटका स्थानीयहरुबाट एक तिहाई जग्गा धनिलाई फिर्ता गर्ने गरि निशुल्क जग्गा प्राप्त भएको, व्यवहारिक सहजताका लागि अध्यक्षको नाममा पास गर्ने भनि विभिन्न मितिमा गाउँसभाबाट निर्णय भएको, हाल भवन निर्माण र बाँकी जग्गा व्यवस्थापनको कार्य भईरहेको र उक्त जग्गामा उजुरीमा भनिएजस्तो गाउँपालिकाको रकम दुरुपयोग नभएको पाईएकोले अध्यक्षको उम्मेदवार भण्डारीको उम्मेदवारी खारेज गरि पाउँ भनि पेश गरेको उजुरी उपर दावि नपुग्ने भएकाले मनोनयन कायम रहने निर्णय गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

बिहिबार नेपाली काँग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्षका उम्मेदवार भण्डारीले आफुप्रति लगाइएको आरोप झुठो भएकोले भ्रममा नपर्न अनुरोध गर्नुभएको छ । उहाँले अध्यक्षको हुँदाको पाँच बर्षको अवधिमा स्वास्थ्य ईकाई, स्वास्थ्य चौकी र प्रहरी चौकीको भवन निर्माणका लागि समेत विभिन्न ठाउँमा निशुल्क जग्गाको व्यवस्थापन गरिएको जानकारी गराउनुभयो ।

गाउँपालिकाको अध्यक्ष भएर काम गर्दा सरकारको रकम कत्तिपनि दुरुपयोग नगरको भन्दै भण्डारीले बरु आफ्नै तर्फबाट जनताका सेवाका लागि सहयोग स्वरुप खर्च गर्दै आएको बताउनुभयो ।यदि रकम दुरुपयोग गरेको पुष्टी भएमा जीवनभर राजनीतिबाटै अलग हुन्छु, भण्डारीले भन्नुभयो ।

नेपाली काँग्रेसका सभापति खम्विर गर्बुजाले रघुगंगामा भण्डारीको लोकप्रीयता देखेर विपक्षहरुले भ्रम फैलाउदै अतिरञ्जित बनाउन खोजेको प्रति आपत्ति जनाउनुभएको छ । पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका जिल्लाका शिर्षनेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन जिल्ला सचिव भरत रकालले गर्नुभएको थियो ।

You can share this post!

मृगौला पीडित कृष्ण रिजाल लाई आर्थिक आभवका कारण उपचारमा कठिनाई

मालिकामा काँग्रेसका उम्मेदवारहरुको घरदैलो अभियान तिब्र

Related posts