म्याग्दी । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बिच चुनाबी तालमेल भएको छ । शुक्रबारसम्म उम्मेदवारी फिर्ताको समयमा नेकपा माओवादी केन्द्रले मेयर र नेपाली कांग्रेसले उपमेयर पदका उम्मेदवारी फिर्ता गराएर चुनावी तालमेल गरेका हुन ।
जिल्ला समन्वय समितिको सभाहलमा रहेका मुख्य निर्वाचन कार्यालयमा पुगेर काँग्रेसका उम्मेदवार चिरञ्जीवि शर्मालाई समर्थन गर्दै माओवादीका मेयरका उम्मेदवार धनलाल जैसीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । भने, त्यसैगरि माओवादी केन्द्रका उपमेयरका उम्मेदवार ज्योति लामिछाने पौडेललाई समर्थन गर्दै काँग्रेसका उपमेयरका उम्मेदवार अमृतदेवी बानियाँको उम्मेदवारी काँगेसले फिर्ता गराएको छ ।
शुक्रबार साँझ कांग्रेसको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सभापति खमविर गर्वुजा र नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज गोविन्द्र पौडेल विच विभिन्न बुदामा सहमति कायम गरि चुनावी तालमेल अघि बढाएको जानकारी गराईएको छ । नेपाली कांगेसलाई बेनी नगरपालिको मेयर र नेकपा माओवादी केन्द्रलाई जिल्ला समन्वय समितिको प्रमुख पद बाडँफाड गर्दै तालमेल अघि बढाइएको नेपाली काँग्रेसका सचिव भरत रकालले बताउनुभयो ।
नेपाली कांग्रेसका बेनी नगर समितिका सभापति रविन्द्र कार्की र नेकपा माओवादी केन्द्रका बेनी नगर समितिका अध्यक्ष शेरबहादुर केसीविच विभिन्न ७ बुदाँमा सहमति कायम गर्दै गठबन्धन अघि बढेको छ । गठबन्धमा साझा प्रतिवद्धतापत्रसहित कार्यक्रम बनाएर चुनावी प्रचारप्रसारमा जाने सहमति गरेका छन् ।
कार्यक्रमा नेकपा माओवादी केन्द्र जिल्ला इन्चार्ज गोविन्द पौडेल र नेपाली कांग्रेसका पुर्व सभापति रेशम बानियाँले विश्वासका साथ गठबन्धनबाट मेयर र उपमेयर पदका उम्मेदवारलाई मतदान गर्न नेता तथा कार्यकतालाई आग्रह गर्नुभएको छ ।
बेनी नगरपालिकामा काँग्रेस माओवादीले वडा नम्बर २, ६, ७, ८ र ९ वडामा समेत चुनाबी तालमेल गरेका छन् । बेनी नगरपालिका, धवलागिरी गाउँपालिका र अन्नपुर्ण गाउँपालिमा कांग्रेस र माओवादीविच गठबन्धन भएको छ । यसैबिच सत्ता साझेदार नेकपा एकिकृत समाजवादी म्याग्दी चुनाबी गठबन्धनबाट अगल भएको छ । गठबन्धनबाट अलग हुनुको साथै जिल्लाको सबै स्थानीय तहमा पार्टीबाट दिइएको उम्मेदवारी समेत फिर्ता गराएको छ ।