नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर के.सी.ले समृद्ध रघुगंगाको परिकल्पना र योजना नेकपा एमालेसँग रहेको हुनाले त्यो योजनालाई साकार पार्न रघुगंगावासी जनताले सुर्यमा मतदान गर्ने अपेक्षा गरेका छन् ।
एमाले रघुगंगा गाउँपालिका कमिटीको आयोजनामा रघुगंगा गाउँपालिका–५, झीँमा भएको स्थानीय तह निर्वाचनलक्षित चुनावी सभामा सम्बोधन गर्दै अध्यक्ष के.सी.ले देशको समग्र विकासको खाका बोकेर हिँडेको पार्टी नेकपा एमाले भएकोले समग्र स्थानको विकास नभई मुलुकको विकास नहुने भएकाले सबै क्षेत्रको विकासका लागि एमाले चाहिने बताए ।
उनले भने, ‘हामी सधैँ अनियमितताका विरुद्धमा खबरदारी गर्दै आएका छौं र रघुगंगा गाउँपालिकामा विगतमा भएका अनियमितताको बारेमा सधैँ खबरदारी गरिरहने प्रमेबहादुर कार्की गाउँपालिका अध्यक्षका उम्मेदवार हुनुहुन्छ, त्यसैले अनियमितता रोक्दै समग्र रघुगंगाको विकासको लागि सुर्यमा मतदान गर्नुपर्छ ।’
एमाले रघुगंगाका अध्यक्ष एवं गाउँपालिका अध्यक्षका उम्मेदवार प्रेमबहादुर कार्कीले गाउँपालिकाको समग्र विकास एवं समुन्नत बनाउनका लागि आफूले योजना लिएर आएको बताए । गाउँपालिकाको विकास र जनताको जीवनस्तर उकास्नका लागि आफ्नो पार्टीको मुख्य भूमिका रहने उनको भनाइ थियो ।
कार्यक्रममा उपाध्यक्षका उम्मेदवार यामकुमारी गर्बुजा र एमाले नेता पूर्णबहादुर पुनले मन्तव्य राखेका थिए । नेकपा एमाले वडा कमिटीका अध्यक्ष एवं वडा अध्यक्षका उम्मेदवार तेजु शेरपुुजाको अध्यक्षता, महिला सदस्य उम्मेदवार राजकुमारी थजालीको स्वागत र रघुगंगा गाउँपालिका कमिटीका सचिव एवं निर्वाचन परिचालन कमिटीका संयोजक झलक शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।